राष्ट्रिय कलाकारहरूको उपस्थितिले धार्मिक तथा सांस्कृतिक माहोल झन् आकर्षक बन्ने
गोरखा, पालुङटार ।
पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
भजन महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय कलाकार एवं राष्टिय लाेक भजन चुडका संरक्षण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष नारायण खनाल लेकाली, भजन तथा दाेहाेर गायक नबिन पौडेल, प्रेमराज अधिकारी, बसन्त बास्ताेला, सारेगम लिटिल च्याम्पियन राेशा फुयाँल, नेपाल अाइडल फाइनलिष्ट लक्ष्मी पाैडेल लगायतका कलाकारहरूको सहभागिता रहने जनाइएको छ । साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूले पनि आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा विशेष भजन प्रस्तुति अन्तर्गत राधाकृष्ण भजन, राम तथा कृष्णभक्ति गीत, नृत्य तथा सांस्कृतिक झाँकीहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ । धार्मिक भावनासँगै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवलाई राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान, नेपालले सहयोग गर्ने भएको छ भने ओंकार योग आयुर्वेद गुरुकुल तथा ओंकार परिषद्ले व्यवस्थापनमा सहकार्य गरेका छन् ।
आयोजकका अनुसार कार्यक्रम आगामी जेठ ५ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ । महोत्सवमा पालुङटार नगरपालिका तथा आसपास क्षेत्रका धर्मप्रेमी, संगीतप्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
धार्मिक आस्था, भक्ति संगीत र नेपाली संस्कृतिको संगमका रूपमा हेरिएको “पालुङटार भजन महोत्सव–२०८३” ले स्थानीय पर्यटन, कला तथा सांस्कृतिक पहिचान प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
कार्यक्रम अायाेजना स्थल पालुङटार नगरपालिका वडा नं. ७ काे च्याङली, चुंदीघाटमा रहेकाे छ । जुन स्थान पृथ्वी राजमार्गकाे बिमलनगर यातायात कार्यालय बाट करीब २०० मिटरकाे दुरीमा मर्स्याङदी नदी र चुँदी खाेलाकाे दाेभानमा रहेकाे छ ।