बागलुङ, ताराखोला ।
ताराखोला गाउँपालिका वडा नं. ४ कार्यालय दोगाडी, बागलुङको आयोजनामा महिला, दलित तथा बालबालिका लक्षित २ दिने क्षमता अभिवृद्धि तालिम मंगलबार सम्पन्न भएको छ।
स्थानीय महिला, दलित तथा बालबालिकाको क्षमता विकास, नेतृत्व विकास तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जितबहादुर खत्रीले समुदाय सशक्तिकरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
तालिममा विभिन्न संस्थाबाट ३५ जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट नेतृत्व विकास, सामाजिक अधिकार, सहभागिता र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको अनुभव व्यक्त गरेका छन्।
कार्यक्रममा वक्ताहरूले पछाडि पारिएका समुदायलाई मूलधारमा ल्याउन यस्ता तालिम प्रभावकारी माध्यम बन्ने बताएका छन्।
तालिममा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडा नं. ४ का सचिव हरि प्रसाद रेग्मी, पत्रकार खगेन्द्र विश्वकर्मा लगायतले नेतृत्व विकास, सामाजिक सचेतना, अधिकार तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।
स्थानीय महिला, दलित तथा बालबालिकाको उल्लेखनीय उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।