भक्तपुर
परम्परागत संस्कृति संरक्षणमा प्रोत्साहनस्वरूप बागमती प्रदेश सरकारले जिब्रो छेड्ने जात्रामा सहभागी हुन लागेका सुजन बाग श्रेष्ठलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको छ।
भक्तपुर को मध्यपुर थिमीस्थित बोडेमा वैशाख २ गते चौथोपटक जिब्रो छेड्न तयारी गरिरहेका श्रेष्ठलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले उक्त रकम हस्तान्तरण गरेका हुन्।
मन्त्री श्रेष्ठका अनुसार ‘मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत लोपोन्मुख सांस्कृतिक परम्परालाई जोगाउने उद्देश्यले यस्तो प्रोत्साहन दिइएको हो। उनले जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिन इच्छुक व्यक्तिहरूको सङ्ख्या घट्दै गएको उल्लेख गर्दै यसलाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
गत वर्ष इन्द्रजात्रा को अवसरमा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई यस्तो पुरस्कार प्रदान गरिएको थियो।
मध्यपुर थिमीमा जिब्रो छेड्ने परम्परा दुई स्थानमा प्रचलित छ—बोडेमा वैशाख २ गते र द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीमा। यस जात्राले रोगव्याधि नलाग्ने, बालीनाली सप्रिने र प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास रहिआएको छ।
सम्मान कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेल, वडा नं. ८ का अध्यक्ष रमेश थापा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
यस पहलले नेपालका लोपोन्मुख सांस्कृतिक सम्पदाहरू संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।