Gorkha Sansar

तनहुँमा एआई क्रान्ति: मोबाइल पत्रकारितासँगै सञ्चारकर्मीको क्षमता अभिवृद्धि

दमौली, ५ चैत — नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको कार्यालयको सहयोगमा सञ्चालन भएको दुई दिने एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको तालिम बिहीबार समापन गरिएको हो।
तालिममा जिल्लाभरका ४० जना सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी समाचार संकलन, सम्पादन र प्रकाशन गर्ने तरिका तथा मोबाइल पत्रकारितामार्फत छिटो, प्रभावकारी र गुणस्तरीय सामग्री उत्पादन गर्ने सीपबारे प्रशिक्षक जीवन भण्डारीले सहजीकरण गरेका थिए।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र रूपान्तरणको चरणमा रहेको बताइन्। उनले सिकाइ प्रक्रिया निरन्तर रहने भएकाले समयअनुकूल तालिम सञ्चालनमा कार्यालय सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गरिन्।
उनले सञ्चारमाध्यमहरूको संस्थागत विकासमा जोड दिँदै सामाजिक सुरक्षा कोषमा आबद्ध सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति रहेको जानकारी पनि दिइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पत्रकारहरूको क्षमता अभिवृद्धि नै गुणस्तरीय पत्रकारिताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने जानकारी दिए। उनले नयाँ प्रविधिसँग पत्रकारहरूलाई अद्यावधिक गराउन महासंघ प्रतिबद्ध रहेको धारणा राखे।
तालिममा सहभागी सञ्चारकर्मीहरूले एआई र मोबाइल पत्रकारितासम्बन्धी सीपले आफ्नो दैनिक समाचार सम्प्रेषण कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
समापन कार्यक्रममा पत्रकारहरू अन्जना तिमिल्सिना, राजेश्वर हड्खले, मिला दरै, सुनिता आचार्य, रामबहादुर घले, एसबी नेपाली लगायतले तालिम उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका थिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.