मुनाफा हत्याउन तीन साझेदार हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । ललितपुरको गोदावरी नगरपालिका र मोरङको धनपालथान गाउँपालिकामा व्यापारिक कारोबारका तीन जना साझेदारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी जिल्ला प्रहरी मोरङले शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा दुई जना र ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा एक जनालाई हत्या गरी खाल्डो खनेर गाडेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।

सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेका थिए । चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते बरामद भएको थियो ।

यस्तै, तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको शव प्रहरीले बिहीबार ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद गरेको हो ।

लिम्बुलाई मंसिर २८ मा, श्रेष्ठलाई पुस ५ मा र चौधरीलाई पुस ७ गते हत्या गरेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जीसीले बताए ।

मृतक श्रेष्ठ, चौधरी, लिम्बु र पक्राउ परेका मण्डल घर जग्गा कारोबारका साझेदार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक जीसीले बताए । ‘काठमाडौंमा जग्गा कारोबारमा भएको मुनाफा रकम एक्लै हत्याउन मण्डलले तीनै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘पक्राउ परेका साह र नासिर दुवै जनालाई पैसा दिएर हत्या गर्न लगाएको खुलेको हो ।’ उनीहरुको हत्यामा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले थप अनुसन्धान भइरहेको जीसीले बताए ।

लिम्बुलाई हत्या गरेर गाडिसकेपछि मण्डलले श्रेष्ठ र चौधरीलाई लिएर विराटनगर आएका थिए । उनीहरु बसपार्कस्थित मेट्रोसिटी होटेलमा बसेको अनुसन्धानबाट खुलेको जीसीले बताए । मण्डलले लिम्बुको हत्या गरेको थाहै नदिई श्रेष्ठ र चौधरीलाई लिएर आएको र होटेलबाट श्रेष्ठलाई लगेर हत्या गरेको पनि चौधरीलाई जानकारी नभएको अनुसन्धानबाट खुलेको उनले सुनाए । घटनाको बारेमा थप अनुसन्धान भएपछि मात्रै थप विषय खुल्ने उनको भनाइ छ ।

धनपालथान गाउँपालिका–७ स्थित बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि उखु काट्न गएका मजदुरहरुले शंका लागेर इलाका प्रहरी रंगेलीलाई माघ १२ गते जानकारी गराएका थिए । त्यसपछि प्रहरीले खाल्डोको उत्खनन गरेपछि दुवै जनाको शव बरामद गरेको थियो ।koshisandesh

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.