बढ्याे नेपालकाे क्षेत्रफल, अब नक्साकाे अाकार नै परिवर्तन

काठमाडौं ।

भारतले अतिक्रमण गरेकाे कालापानी र लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा समेटिएपछि अब क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वर्ग किलोमिटर कायम भएकाे छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बुधबार कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो ।

मन्त्री अर्यालले नेपाली भूभाग जोगाउन पुर्खाले गरेको योगदान बिर्सन नहुने कुरा नक्सा सार्वजनिक गर्ने क्रममा बताउनुभयो । हाम्रो भूभागलाई जोगाउन पूर्वजहरुले बलिदानी गरेको इतिहासलाई हामीले कदापी विर्सन सक्दैनौं । पूर्वजहरुले रचिदिएको भौगोलिक इतिहासका कारण आज हामी नेपाली भन्न पाएका छौं । नेपाली हुनुमा हामी गौरव गर्दछौं’ उहाँले भन्नुभयो, ‘नेपाल निर्माणको अढाइ सय वर्षको दौरानमा धेरै आरोह अवरोह झेलेका पनि छौं । आजको यो ऐतिहासिक क्षणमा आइपुग्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको शिर झुक्न दिएको छैन र दिने पनि छैन भन्ने विश्वास यहाँहरुमा राख्न चाहान्छु । त्यति मात्र होइन सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्ने दिशामा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ संकल्पित छ ।’

मन्त्री अर्यालले सन् १८१६ मार्च ४ मा तत्कालीन इष्टइन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार काली नदी र त्यो भन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको उल्लेख गर्नुभयो । ‘तर हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्बका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकोले ती भूभाग समेत देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार गरी प्रकाशन गर्न र प्रचलनमा ल्याउन नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७–०२–०४ गतेको बैठकले नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सा स्वीकृत गरी लागू गर्न निर्णय गरेको छ ।’ उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले नयाँ नक्शा सार्वजनिक गर्दै यसलाई भारतले पनि सकारात्मक रुपमा लिने आशा व्यक्त गर्नुभयो ।  उहाँले सरकारी दस्तावेज र पाठ्यपुस्तक नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याइने जानकारी  समेत दिनुभयो ।

 

नयाँ नक्शासँगै नेपालको क्षेत्रफल समेत बढेको छ । क्षेत्रफल यसअघि भन्ने गरिएको भन्दा ३ सय ७६ वर्ग किलोमिटर बढेको हो। नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वर्ग किलोमिटर कायम भएकाे छ । नेपालको क्षेत्रफल यसअघि १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भन्ने गरिएको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा पारित गरेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि जेष्ठ २ गते संघीय संसदमा आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको उल्लेख गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.