नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट महँगोमा बिजुली किनेर स्वदेशी माग व्यवस्थापन गर्न थाले पनि अधिकारीहरूले त्यो “छोटो समयका लागि देखिने असर” भएको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले सामान्य अवस्थामा किनिराखेकोभन्दा चारगुणा मूल्य तिरेर बिजुली खरिद गर्दा आफूलाई दैनिक २२ करोड रुपैयाँसम्म घाटा लाग्ने जनाएको छ।
भारतीय ऊर्जा बजारमा गत साता देखिएको “अस्वाभाविक मूल्यवृद्धि” प्रतिस्पर्धी बजार नेपालका लागि सङ्कटका बेला “गलपासो” बन्न सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ।
नेपालले आफूलाई धेरै विद्युत् किन्नुपर्ने हिउँदको यस समयमा टनकपुर र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत् एक्सचेन्ज मार्केटबाट किन्ने गरेको जनाएको छ।
गत नोभेम्बरदेखि उक्त प्रतिस्पर्धी बजारमा जोडिएको नेपालले दैनिक ४५० मेगावाटसम्म बिजुली किन्ने गरेको छ।
एकजना भूतपूर्व ऊर्जासचिव हरिराम कोइरालाले भारतमा निर्भर रहने जुनसुकै उपाय नेपालका लागि भरपर्दो नहुने बताउँछन्।

तस्बिर स्रोत,GETTY IMAGES
कहिलेसम्म यस्तो समस्या?
गत साता बिहीवार एक पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई महिनापछि नेपालको बिजुली चाहिनेभन्दा धेरै हुने भएकाले यसबीचमा उपभोक्ताको “आत्मविश्वास घट्न नदिइने” बताएका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल विश्वव्यापी ऊर्जा चक्रमा देखिएको हालको अवस्था “निकै अस्वाभाविक” भएको बताउँछन्।
“३८ रुपैयाँ प्रतियुनिटसम्मको महँगो दर दिनभरिका सबै स्लटलाई होइन,” उनले भने।

भेटवाल अबको तीन वर्षमा हिउँदमा समेत आत्मनिर्भर बन्ने अवस्था आउन लागेको दाबी गर्छन्।
हाल १३० निर्माणाधीन परियोजनाहरू रहेका र तिनबाट करिब ३,००० मेगावाट थपिने अवस्थामा रहेको प्रवक्ता भेटवालको भनाइ छ।
“हाम्रो माग जुन रूपमा बढ्ने सोचिएको थियो त्यो नबढ्दा छिट्टै सबै याममा आत्मनिर्भर बन्ने दिशामा छौँ।”
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको खपत रणनीति अझै स्पष्ट नहुँदा भविष्य कस्तो हुने स्पष्ट नदेखिएको बताउँछन्।
“सबैभन्दा राम्रो स्थिर दरमा बिजुली किनबेच गर्न पाए नै हुन्छ,” आचार्यले भने।
“तर खुला बजारमा जाँदा भोलि हाम्रा निजी क्षेत्रका खेलाडीहरूले पनि तिनै कुरा ल्याउन सक्छन्। अहिलेसम्म कुरा एकतर्फी मात्र भएर त्यो समस्याजस्तो देखिएको हो।”
नेपालमा हालसम्म नेपाल विद्युत् प्राधिकरणले मात्र बिजुली किनबेच गर्छ।

विकल्प के?
हिउँदमा नेपालमा क्षमताको ३० देखि ४० प्रतिशत मात्र बिजुली उत्पादन हुने गरेको तर त्यो समय नेपाल र भारत दुवैतर्फ उच्च विद्युत् माग हुने गरेको अधिकारीहरू बताउँछन्।
नेपालभित्रै पनि नदीको बहावमा आधारित परियोजनाका भरमा मात्र हिउँदमा आत्मनिर्भर हुने परिकल्पनासँग सहमत हुन नसकिने भूतपूर्व सचिव हरिराम कोइरालाको मत छ।
उनले भारतीय प्रतिस्पर्धी बजार नेपालको लागि कम लाभदायक देखिएको बताउँछन्।
“द्विपक्षीय सम्झौता भए पनि भारतले सम्बन्ध र अवस्थाको आधारमा कहिले बिजुली दिन्छ, कहिले दिँदैन। ऊर्जा बजारको भाउ हाम्रो नियन्त्रणमा हुँदैन,” कोइराला भन्छन्।
“अन्य आन्तरिक अवस्थालाई बलियो बनाउनु नै नेपालका लागि दिगो उपाय हो। तर बूढीगण्डकीजस्ता आफ्नै लगानीमा गर्न सकिने भनेर पहिचान गरिएका परियोजनामा ढिलाइ मात्र भइरहेको छ।”

तस्बिर स्रोत,GETTY IMAGES
इप्पानका अध्यक्षले समेत उच्चबिन्दुमा पुग्यो भन्दैमा त्यसलाई चिन्ताको विषय मान्ने अवस्था भने नआएको बताउँछन्।
उनी महँगोमा पेट्रोलियम पदार्थ किन्ने क्रमलाई निरन्तरता दिइराख्नुभन्दा बिजुली उपभोगका क्षेत्रलाई नेपालभित्रै विस्तार गर्न सकेमा नेपालका लागि लाभदायक उपाय हुने ठान्छन्।
“पारवहनदेखि आन्तरिक खाना पकाउने ग्यासजस्ता क्षेत्रलाई मात्र बिजुलीले विस्थापन गर्न सक्दा अवसर यहीँ अथाह छ।”
नेपालले द्विपक्षीय ऊर्जा आदानप्रदान अन्तर्गत भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र पीटीसी इन्डियाबाट समेत स्थिर दरमा विद्युत् किन्ने गरेको छ।
तर अहिले भारतमा रहेको ऊर्जा सङ्कटका कारण त्यहाँबाट पाइरहेको बिजुली रोकिएको बताइएको छ।
BBCNepali