कुखुरा जोख्ने तराजुमा रिमोटकन्ट्रोलले तौल घटाएर ठग्ने पक्राउ

शिव उप्रेती : दराैंदीबाट साभार

गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि यो रहस्य उद्घाटन भएको हो ।

गोरखा नगरपालिका ९ का किसान राजाराम कुँबरको खोरमा ६५० वटा कुखुरा जोख्दा रिमोटकन्ट्रोलद्वारा तराजुमा तौल घटाउँदै गरेका बूढानीलकण्ठ काठमाडौँका आरके कोल्डस्टोरका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाबाट दिनहूँ पाँच ट्रक कुखुरा ओसार्ने श्याम महर्जनका कर्मचारीहरु देवेन्द्र खवास र नरेश ओझैयालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुसित प्रहरीले रिमोट कन्ट्रोलजडित डिजिटल तराजुलगायतका ठगी गर्ने उपकरण बरामद गरेको एसपी केदार खनालले जानकारी दिए ।

उनीहरुले एकसयवटा कुखुरा जोख्दा दुईकिलोग्राम ठगी गर्ने गरेको स्वीकार गरेको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । ‘उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ’, प्रहरी निरीक्षक देवकोटाले भने, ‘मुद्दा भने दर्ता गरिएको छैन ।’ मुद्दा दर्ता गर्न प्राविधिक कठिनाइ भएको उनले बताए ।

उनीहरु यसअघि पनि बारम्बार ठगी गर्दागर्दै समातिने गरेका तर कुनै कारबाही नभएको कुखुरा पालक किसान व्यवसायी संघ गोरखाका अध्यक्ष परशुराम बस्नेतले गुनासो गरे । ‘यसअघि पनि हामीले पटक पटक उनीहरुलाई ठगी गर्दागर्दै समातेको हो । ठगी गर्दागर्दै कहिले किसानले कुटपिट गरेको पनि हो, कहिले पानीमा चोबलेको पनि हो, कहिले लाइसेन्स जफत गरेको पनि हो’, उनले भने, ‘तर अबदेखि यस्तो गर्दैनौँ भन्छन्, अनि छोडिदिन्छौँ, फेरि उसैगरी ठग्छन् । श्याम महर्जनसित सम्पर्क गर्दा गल्ती भयो अबदेखि त्यस्तो हुनेछैन, बरु क्षतिपूर्ति दिन्छु भनेर आश्वासन दिन्छन्, तर न दोषीलाई कारबाही हुन्छ, न पिडित किसानलाई क्षतिपूर्ति दिन्छन् । सँधै घटना त्यही, साहु त्यही, ठकतराजु त्यही, मान्छे त्यही, गाडी त्यही, तर कारबाही केही न केही ।’ नापतौलमा सेटिङ मिलाएर ठगी गर्नेलाई कारबाही गर्ने निकाय अहिलेसम्म नपाएको उनको गुनासो छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गोरखाले काठमाडौँको नापतौल विभागमा अनुरोध ग¥यो । ‘काठमाडौँले पोखरामा खबर गर्न भन्यो । पोखरामा खबर गर्दा अभियुक्त काठमाडौँको हो भन्ने थाहा पाएपछि काठमाडौँमै खबर गर्नू भन्यो’, प्रहरी निरीक्षक देवकोटाले भने । ‘त्यसैले मुद्दा दर्ता गरिएको छैन । अनुसन्धानको क्रममा राखिएको छ ।’

अर्का व्यवसायी शिवरामसिँह बस्नेतका अनुसार काठमाडौँका व्यवसायीले गोरखाबाट दैनिक पाँच ट्रकभन्दा धेरै कुखुरा लाने गरेका छन् ।
कुखुरा उठाउँदा प्राय रातको समयमा बत्ती मारेर उठाउने, जोख्ने क्रममा खल्तीभित्रबाट रिमोट चलाएर ठग्ने गरेको कुखुरापालक किसानहरुको आरोप छ । ‘प्राय राती आउँछन् । बत्ती मारेर अँध्यारोमा कुरा उठाउँछन् । जोख्दा पनि राती खल्तीभित्र रिमोट चलाएर बेस्सरी ठग्छन्’, अध्यक्ष परशुराम बस्नेत भन्छन्, ‘एक पटकमा ५० केजी कुखुरा जोख्दा १० केजी ठग्छन् । एकदिनमा सातहजार पाँचसय केजी कुखुरा उठाउँछन् । यसरी हिसाब गर्दा दिनमा गोरखाका किसानबाट दैनिक तीनलाख ७५ हजार रुपैयाँ ठगी गर्छन् ।’ काठमाडौँका सप्लायर्सले गोरखाका ठूला दानाचल्ला बिक्रेतासित सेटिङ मिलाएर ठग्ने गरेको उनको आरोप छ ।

नापतौलमा ठगी गर्नेलाई २०१९ सालको ऐनअनुसार जम्मा दुईहजार रुपैयाँ मात्र जरिबानाको व्यवस्था भएकाले ठगहरुले प्रश्रय पाइरहेको कुखुरा पालक किसानहरुको गुनासो छ । ‘व्यवसाय छाडेर मुद्दा मामिला गर्न पोखरा जानुपर्छ । १५ दिन, एक महिना धाउनु पर्छ, तर दोषीलाई जम्मा दुईहजार रुपैयाँ जरिबानाको व्यवस्था छ । त्यसैले किसानहरु मुद्दा मामिलामा लाग्दैनन्’, उनले भने, ‘सरकारले ठगको संरक्षण गर्ने होइन, किसानलाई संरक्षण गर्ने खालको कानून बनाउनु पर्छ ।’ गोरखामा मात्र नभै कुखुरा पालक किसान देशभर यसरी नै ठगिने गरेका उनले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.