अन्ततः कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा बुल्दीखोला पुल उद्घाटन ।।

तनहुँ, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन्। बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका हुन्। तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो। सत्तारूढ दल नेकपाका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रशासनले निषेधाज्ञासमेत जारी गरेको थियो। निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई हिजो तीन घण्टा तनहुँ प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो। कांग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको छ। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेललगायत पनि तनहुँ पुगिसकेका छन्। पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो।
दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए। वरिष्ठ नेता पौडेल र संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनको विषयमा विवाद बढेको हो। पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागिता छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.