पहिरोको जोखिम न्यूनिकरणका लागि भू जैविक प्रविधि (बायोइन्जिनियरिङ) मार्फत युएनडीपिको सहजिकरण

गोरखा

गोरखा जिल्लाका ८ स्थानीय तहमा पहिरो जस्ता प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि बायो इन्जिनियरिङ (भू जैविक) प्रविधिको प्रयोग गरेर युएनडीपिले स्थानीय न.पा ÷ गा.पा संगको सहकार्यमा १६ स्थानमा पहिरो रोकथामको नमुना कार्य संचालन गरेको छ । पहिरो रोकथामका लागि गोरखा र पालुंगटार नगरपालिका, अजिरकोट,आरुघाट गण्डकी, धार्चे, शहिदलखन र सिरानचोक गाँउपालिकाका विभिन्न वडामा र प्राविधिक तथा आर्थिक सहजिकरण गरिएको छे । बर्षायाम सुरु भएसंगै गोरखा लगायत नेपालको पहाडी भूभागमा पहिरोले पुर्याउने क्षति न्यूनिकरणका लागि विभिन्न स्थानीय श्रोतसाधन तथा जैविकि प्रविधिको प्रयोग गरि स्थानीय पालिकासंगको समन्वयमा प्रकोप रोकथामको कार्य अगाडी बढाइएको हो । परियोजना अन्र्तगत युएनडीपिका विज्ञ डा. संजय देवकोटाले स्थानीय संकटासन्न समुदायलाई वातावरणमैत्री भु जैविक प्रविधि प्रयोग गरि पहिरो रोकथाम गर्न सहयोग पुर्याउने तथा संकटासन्न समुदायको जीविकोपार्जन अभिवृद्धि गर्न परियोजनाले सहयोग गरेको बताउनुभयो । यसका लागि हालसम्म १० स्थानमा पहिरो रोकथामका लागि काम सम्पन्न भइसकेको र बाँकी ६ स्थानमा काम भईरहेको उहाँले बताउनुभयो । प्रविधिको सहि प्रयोग मार्फत गुणस्तरीय कार्यका लागि स्थलगत रुपमा प्राविधिक जनशक्ति परिचालन गरेर काम भईरहेको परियोजनाका फिल्ड इन्जिनियर सुनोज जोशीले बताउनुभयो । युएनडीपिको आर्थिक तथा प्राविधिक सहयोगमा गोरेटो गोरखाको सहकार्यमा सञ्चालित परियोजनाले गण्डकी गाँउपालिकामा पहिरो रोकथामका लागि भएको प्राविधिक सहयोगले धेरै राहत पुगेको पाथिस्वारा वडा नम्बर २ का स्थानीय टेक बहादुर गुरुङको भनाई छ । टेक बहादुरले भन्नुभयो, गत साउन ५ गते गएको पहिरोले आफ्नो घरमा क्षति पुगेको थियो, थाहा नै थिएन स्थानीय श्रोत, जैविक प्रविधि तथा कम लागतमा पहिरो रोकथाम गर्न सकिने रहेछ भनेर । भरखरै परियोजना बाट आर्थिक तथा प्राविधिक सहजिकरण पाए पश्चात सोही अनुसार पहिरो रोकथाम गर्ने उपाए अपनाएर सुरक्षित भएर बसेका छौं।
यस्तै, गण्डकी गाँउपालिकाका स्थानीय शमसेर गुरुङ भन्नुहुन्छ, भू जैविक प्रविधिबारे केही पनि जानकारी नभएको अवस्थामा त्यसबारे बुझाएर पहिरो न्यूनिकरणका लागि स्थानीय स्तरमा पाइने सामग्रीबाट पहिरोको रोकथाम बारे युएनडीपिले स्थलगत तालिम तथा प्राविधिक सहजिकरण गरेर धेरै उपयोगी भयो । भू जैविकि प्रविधि मार्फत स्थानीय स्तरमा उपलब्ध हुने अमरिसो, निगालो,उतिश, असुरो, बाँस आदि हरित प्रविधिको उपयोग गरेर समेत पहिरो जस्ता प्रकोप न्यूनिकरण गर्न सकिने जानकारी हुँदा धेरै उपयोगी लागेको स्थानीय शमशेरको भनाई छ ।
युएनडीपि द्वारा संचालित जोखिम सुशासन सुदृढिकरण पहल सम्बन्धी परियोजनाले गरिरहेको सहजिकरणले बर्षायाममा जाने पहिरो जस्ता प्रकोप रोकथामका लागि पुर्याइरहेको प्राविधिक तथा आर्थिक सहजिकरण सराहनीय भएको पालुङटार नगरपालिकाका मेयर इन्जिनियर दिपक बाबु कँडेलले बताउनुभयो । उहाँले आगामी दिनमा समेत पहिरोबाट हुने क्षति न्यूनिकरणका लागि स्थानीयस्तरमा बायोइन्जिनियरिंग प्रविधिबाट प्राविधिक सहजिकरण, जनचेतना तथा तालिम लाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै आगामी दिनमा नगरपालिकाले यस्तै प्रविधिलाई प्रोत्साहन गरि पहिरोबाट हुने क्षति न्युनिकरणका लागि पहल गर्ने उहाँले बताउनुभयो । यस परियोजनाले पहिरो जस्ता प्रकोप न्यूनीकरणका लागि गोरखाका ८ स्थानीय तहमा सन् २०२० फेब्रुवरी देखि हाल सम्म प्राविधिक सहजिकरया गर्दै आएको युएनडीपिका वरिष्ठ कार्यक्रम अधिकृत केदार बाबु ढुंगानाले बताउनुभयो । पालिकाहरुको अगुवाइमा स्थनीय सामग्रीको अधिकतम प्रयोग तथा बाह्य सामग्रीको न्यूनतम प्रयोग मार्फत दिगो समाधान खोज्नु र उक्त प्रयासहरु मार्फत सानै संख्यामा भएपनि निजी आवास तथा सार्वजनिक संरचनाहरु पहिरोबाट पुग्न सक्ने क्षति रोकथाम तथा न्यूनीकरण गर्नु परियोजनाको ध्येय रहेको उहाँले बताउनुभयो ।

 

 

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.