पालुङटार नगरपालिका वडा नं. ७ र ८ का ५० बढी बालबालिकाहरुलाई एस.ओ.एस.को सहयोग

गोरखा संसार
२६ असोज, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ र ८ का ५० भन्दा बढी बालबालिकाहरुका लागि एस.ओ.एस बालग्रामले सहयोग गरेको छ । बिगत केही महिनाअघिदेखि बालग्रामले ती बालबालिकाहरुका लागि सहयोग गर्दै आएको छ ।
बाबुआमा नभएका वा भएर पनि बिभिन्न प्रकारका समस्या तथा आर्थिक समस्याका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाई भएका बालबालिकाहरुको छनोट गरी ती बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग पुर्याउने हेतुले सहयोग गरेको बालग्राम गण्डकीका सामाजिक केन्द्र इन्चार्ज राजेन्द्र रेग्मीले बताउनुभयो ।
उक्त सहयोग ३ बर्षसम्म निरन्तर हुने पनि उहाँँले बताउनुभयो ।
बालग्रामले हिजो वडा नं. ७ च्याङ्लीमा एक कार्यक्रम गरी व्यक्तिगत सरसफाई सम्बन्धी सचेतना तथा बाल सुरक्षा बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालय भवनमा भएको कार्यक्रममा रेग्मीले कार्यक्रमको रुपरेखा तथा उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।
त्यस्तै गरी कार्यक्रममा बालग्राम नर्स प्रभा घिमिरेले कोभिड १९ तथा व्यक्तिगत सरसफाई सम्बन्धी चेतनामूलक प्रस्तुती राख्नुभएको थियो । जसमा बालसंरक्षण श्रोतव्यक्ति सुमन बरालले बाल अधिकार र जिम्मेवारीका बिषयमा अभिमुखीकरण गर्नुभएको थियो । बालग्राम गण्डकीका योजना निर्देशक भगत कुमार श्रेष्ठले सहभागीहरुलाई अत्यावश्यक व्यक्तिगत सरसफाई सामग्री बितरण गर्नुभएको थियो ।
आफ्नो वडामा आएर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यसम्म हातेमालो गरी अघि बढन पाइयोस भन्ने सन्देश सहित वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले संस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो ।
जुलाई महिनादेखि पालुङ्टारको वडा नं. ७ र ८ मा शुरु गरेको यस्तो प्रकारको पठनपाठन सहयोग कार्यक्रम शुक्लागण्डकीको वडा नं. ९ र १० मा सञ्चालनमा रहेको र बिगत केही बर्षअघिदेखि नै पोखरामा पनि सञ्चालन भइरहेको बालग्रामका सामाजिक केन्द्र्र इन्चार्ज रेग्मीले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.