गोरखा संसार
१४ भाद्र, गोरखा ।
बेपत्ता परिवारका सदस्यहरुलाई मलम पट्टी लगाउनु हामी सबैको दायित्व रहेको एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष बिक्रम ढुकुछुले बताउनुभयो ।
एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७६ गोरखाले अन्तराष्टिय बेपत्ता दिबसका अवसरमा आज सञ्चालन गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले बेपत्ता शसस्त्र द्धन्दका समयमा राज्यले बलपूर्वक बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्न बारम्बार झक्झकाउँदा समेत सुनुवाइ नगरेको बरु पिडीतहरुलाई नै बिभाजित गरी राजनितीक स्वार्थ पूरा गर्न उद्धत रहेको बताउनुभयो । साथै उहाँले राज्यले अब आइन्दा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता सहित रोम बिधान अनुमोदन गर्नसमेत राज्य तयार नभएको बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारीले राज्यले अहिलेसम्म बेपत्ता नागरिकका बिषयमा केही नगरेर नालायकीपना देखाएकाले सरकारबाट केही आस गर्नु पनि मूर्खता हुने बताउनुभयो ।
समूह ७६ गोरखाका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त भर्चुअल अन्तक्रिया कार्यक्रममा समूहका उपाध्यक्ष हरि शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
समूहका सचिव कमल लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहका सल्लाहाकार एवं पूर्व अध्यक्ष रबिन्द्र कंडेलले एम्नेष्टीको परिचय तथा गोरखामा एम्नेष्टीको स्थापना सहित कार्यक्रमको औचित्य बारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै समूहका पूर्व अध्यक्ष ऋषि खनालले समूहले यस्तो महामारीको बेलामा समेत कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो कार्यक्रममा बेपत्ता परिवार समाज गोरखाका अध्यक्ष रामबाबु देवकोटाले शान्ति सम्झौता भएको ६० दिनभित्र सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्ने भनी आयोग गठन गरेको तर आजसम्म पनि सरकारले प्रभावकारी रुपमा केही नगरेको भन्दै सरकारबाट आस नै मरिसकेको बताउनुभयो ।
त्यस्तै गरी बेपत्ता परिवारका सदस्य शुशील पन्त ले पनि सरकारले आफ्नो बेपत्ता पारिएको भाइको बारेमा बारम्बार एम्नेष्टीसहित धेरै संस्थाहरुमा गुहार्दा समेत केही हुन नसकेको र सरकारले कानमा तेल हालेर बसेकाले आफूहरु बढी आक्रोशित भएको बताउनुभयो । तत्कालीन बिद्रोही पार्टीका नेताहरु अहिले सत्तामा पुग्दा समेत खोजी गर्नुको साटो सत्ता टिकाउने बाहेक केही नसोचेको भन्दै बन्दुक उचाल्न समेत पछि नपर्ने बताउनुभयो ।
सो अवसरमा कमला रानाले समेत आफ्ना भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रमलाई प्राबिधिक रुपमा गोरखा संसार मिडिया प्रा.लि ले सहयोग गरेको थियो ।