रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ११, गोरखा
गोरखा जिल्लाको पालुङ्टार नगरपालिका ले सामाजिक सुरक्षा भत्ता घर घरमै लगेर बाँडन थालेको छ ।
बैंकबाट दिइँदै आएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरसका कारण घरबाट बाहिर जान प्रतिकूल समय भएकोेले सम्बन्धित बैंकसँग समन्वय गरी टोल टोलमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाइएको नगरपालिकाका नगर प्रमुख इ. दिपक बाबु कंडेलले बताउनुभयो । अहिले नगरपालिकाका हरेका जसो वडामा सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालिएको छ ।
यसै क्रममा वडा नं. ७ कार्यालयले १० गतेका दिन सम्बन्धित बैंकसंग समन्वय गरी सामाजिक सुरक्षा भत्ता ल्याई टोल टोलमा पुर्यार वितरण गरिएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या धेरै भए पनि पहिलो चरणमा अत्यावश्यक रहेका व्यक्तिहरुका लागि बितरण गरिएको र क्रमशः सवैलाई बितरण गरिने योजना रहेको पनि वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । यसरी वितरण गर्दा अहिलेको परिवेशमा जनतालाई बास्तविक राहत हुने महसूस गरी यस्तो गरिएको श्रेष्ठले बताउनुभयो ।
त्यस्तै गरी यस अघि नै वडा नं. ८ मा पनि घर घरमै पुुर्याएर वितरण गरिएको वडाध्यक्ष शंकरराज कंडेलले जानकारी दिनुभएको छ । भने अन्य वडाहरुमा पनि वितरण भइरहेको वडाध्यक्षहरुले जानकारी दिएका छन् ।
घरबाट बाहिर निस्कन नसक्ने तथा असक्त अपांग व्यक्तिहरुका लागि भने घरमै पुगेर उनीहरुको सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गरिएको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभएको छ ।