रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ६, गोरखा
गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा बैशाख ५ गते साँझको बर्षा र हुरीबतासका कारण पचासौं घर र फलफूल मा क्षति पुग्दा करोडौंको नोक्सानी भएको छ ।
५ गते सांझ करीब ५ बजेतिर एक्कासी हुरीबतास संगै बर्षा हुँदा च्याङलीका ५० बढी घरको छाना उडाएको छ भने हजारौं रोपनी मा लगाइएको केरा तथा लिची का बोटहरु भाँचिएर क्षति पुगेको छ । अहिले घरको क्षति मात्र निरीक्षण् गरिएको र कृषि तर्फको क्षति कृषि प्राविधीकको साथमा गरिने पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ. दिपकबाबु कंडेलले बताउनुभयो ।
क्षति भएको खबर पाएलगत्तै पालुङ्टार नगरपालिकाका नगरप्रमुख ई.दिपकबाबु कंडेल ६ गते विहान सबेरै क्षतिको विवरण लिन इलाका प्रहरी कार्यालयको टोलीसहित च्याङ्ली आइपुग्नुभएको थियो । विहानै देखि नगरप्रमुख कंडेल र वडा नंं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ मुचुल्का गर्न र राहत वितरण को लागि दिनभर खटिएका थिए । क्षति भएका हरेक घरमा पुगेर फर्केपछि नगरप्रमुख कंडेल र वडाध्यक्ष श्रेष्ठको पहलमा जिल्ला रेडक्रस शाखा गोरखाबाट त्रिपाल ल्याएर बितरण गरी फर्केका थिए । आज गरिएको निरीक्षणमा १३ घरका छाना पूर्ण क्षति भएको पाइएको छ भने बाँकी आँशिक क्षति भएको पाइएको छ । क्षति निरीक्षणका क्रममा नगरप्रमुख तथा वडाध्यक्षसंगै इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, अस्थयी प्रहरी पोष्ट बिरुवाटार, गोरखा संसार मिडिया प्रा.लि.का रविन्द्र कंडेल लगायतका स्थानीय बुद्धिजिवीहरु समाबेश रहेका थिए ।
अधिकाँश किसानहरुका बारीमा लगाइएको केरा तथा लिची का बोटहरु भाँचिएका छन भने केही लिचीका बोटहरु उखेलिएका छन । केरा तथा लिचीको क्षतिका विषयमा पछि कृषि कार्यालयसँग समन्वय गरी के कसरी राहत प्रदान गर्न सकिन्छ छलफल गर्ने नगर प्रमुख कंडेलले बताउनुभयो ।
त्यस्तै गरी च्याङ्ली स्वास्थ्य चौकी भवनको पनि छाना उडाएको थियो भने चौकीको भवनको छाना आज नै टिन ल्याएर छाइएको स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।