काठमाण्डौ २९, फागुन ।
बैंकिङ कसूर मुद्दामा राजधानीबाट गोरखाका २ जना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला लगत्तै फरार भएका उनीहरुलाई पक्राउ गरीएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका ६ अश्राङ घर भएका २५ वर्षीय निसम बिक, काठमाण्डौं मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका १७ घर भएका ३२ वर्षीय मुन्दिप भुजेल र काठमाण्डौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका ३ स्वाराकी ३६ वर्षीया शान्ता कोईराला दवाडी रहेको महाशाखाले जनाएको हो ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको हो । निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई शुक्रबार पक्राउ गरेको हो ।बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र गत मंसिर २१ गतेको फैसलाले शान्तालाई ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो भने निसमको नाममा बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले मुन्दिपलाई काठमाण्डौं मनमैजुबाट र निसमलाई बनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो ।मुन्दिप र शान्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।