गाेरखा संसार
२२ बैशाख, सुर्खेत :
नेपालका सातवटा प्रदेशहरूमध्ये अहिलेसम्म कर्णाली प्रदेश सुरक्षित रहेकाे छ । त्यसैले यस प्रदेशलाइ काेराेनाबाट सुरक्षित राख्न पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ।
प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि कर्णालीका सबै नाका सिल गरिएका हुन्। हालसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले प्रदेश भित्रिने सबै नाकाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।
यसअघि छिमेकी सुदूरपश्चिममा पनि संक्रमण देखिएको छ। यस्तै पछिल्लो समय प्रदेश ५ को नेपालगंजमा पनि संक्रमण देखिएपछि कर्णालीमा त्रास छाएको छ। यही त्रासकाबिच बाहिरबाट संक्रमण भित्रिन नदिन कर्णालीका सबै नाकाहरु बन्द गरिएका हुन्।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार सम्पन्न बैठकले एक साताका लागि प्रदेशका सबै नाकाहरु पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु बन्द भएका हुन्।
नाका बन्द भएसँगै अब कर्णालीमा कोही पनि भित्रिन पाउने छैनन्। यस्तै निर्माण सामग्री र खाद्यान्न आयातमा पनि रोक लगाइएको छ। सामाजिक विकास मन्त्री दल रावलले भने,‘संक्रमणबाट अहिलेसम्म कर्णाली सुरक्षित छ, तर छिमेकी प्रदेशमा संक्रमण बढ्यो।
त्यो भित्रिन नदिन हामीले कर्णालीलाई पूर्णरुपमा सिल गर्ने निर्णय गरेका छौं, अब मानिसहरुको आवतजावत र सामानको ढुवानी पूर्णरुपमा बन्द हुनेछ।’ उनका अनुसार प्रदेश नम्बर ५ र सुदूरपश्चिमबाट संक्रमण भित्रिन सक्ने जोखिम बढेपछि नाकाहरु बन्द गरिएको हो। बिरामी बोकेका एम्बुलेन्सको हकमा भने नाकामा प्रवेश दिइने छ।
यस्तै बैठकले कर्णालीका विभिन्न २७ स्थानमा चिकित्सकसहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। प्रदेशका रणनीतिक स्थान, बजार क्षेत्र र नजिकका गाउँपालिकाहरुलाई केन्द्र पर्नेगरी विभिन्न स्थान छनौट गरिएका छन्। ति स्थानमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकको टोली खटाइने छ।
उक्त टोलीले नमूना संकलन, दु्रत परीक्षण र उपचारको काम गर्नेछन्। ‘जुम्लाबाट खटिने चिकित्सकले साविक कर्णाली र सुर्खेतबाट खटिएका चिकित्सकले अन्य जिल्लामा काम गर्नेछन्’ मन्त्री रावलले भने,‘परीक्षण र उपचारको दायरा बढाएका छौं, चिकित्सकले अब फिल्डमै रहेर उपचार गर्नेछन्।’उनले चिकित्सकको टोलीले आवश्यक परेमा सोही स्थानमा आइसोलेसन वार्डसमेत संचालन गर्ने बताए।
पछिल्लो समय उद्दारको नाममा कर्णालीमा मानिसहरु ओसार्नेक्रम बढेको थियो। स्थानीय तह र प्रदेश सरकारले नै बाहिरबाट नागरिकहरु उद्दार गर्दै आएका थिए। नाकाहरु बन्द भएसँगै अब मानिसहरु ओसार्ने काम बन्द हुनेछ।