दाङ, ३० मङ्सिर ।
दाङका पदम शर्माले संसद दिवसको सन्दर्भको अवसर पारेर ६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन्। उनले नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको आरोहण दलमा सहभागी रहेर हिमाल आरोहण गरेका हुन् ।
शर्मा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सदस्य हुन् । काङ्ग्रेस महामन्त्री शर्माले जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पुर्याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने उद्देश्यका साथ सुरु गरेको हिमाल आरोहण दलमा दाङका काङ्ग्रेस नेता शर्मा पनि सहभागी रहेका थिए ।
हिमाल आरोहण आफ्नो पहिलो अनुभव रहेको बताउँदै शर्माले भने, ‘हामीले अझै नेपाल चिन्न धेरै बाँकी रहेछ । नेपाललाई त्यतिकै भूस्वर्ग भनिएको होइन रहेछ । प्रकृतिको अनुपम बरदान हो नेपाल । हिमालको उचाइमा पुग्दै गर्दा देश र जनताले अझैं धेरै च्ली उक्लन बाँकी रहेको अनुभव भयो । हिमालको चुली टेक्ने पहिलो अवसर मेरा लागि थप हौसला र ऊर्जाको मार्य बनेको छ ।’ उनले थपे, ‘तेस्रो ध्रुवको देश नेपालमा रहेर पनि हामी धेरै नेपालीले हिमालको अनुभव लिन सकेका छैनौँ । यस्ता अवसरलाई हामीले छाड्नु हुँदैन जस्तो लाग्छ मलाई । अब थप उचाइका हिमाल आरोहण गर्ने हुटहुटी मभित्र रहेको छ ।’
देश बुझ्नका लागि हिमाल आ्रोहण महत्वपूर्ण रहेको शर्माले बताए । शर्मा काङ्ग्रेस नेताका साथै निर्माण व्यवसायी पनि हुन् ।
उनले यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११ः५० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेका थिए ।