दाङको तुलसीपुरमा प्रथम तुलसीपुर सडक नेवाः खाना महोत्सव हुने भएको छ । नेवारी समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम तुलसीपुर सडक नेवाः खाना महोत्सव’ मङ्सिर ३० गतेदेखि पुष २ गतेसम्म तुलसीपुरमा आयोजना गरिएको नेवार राष्ट्रिय मञ्च, तुलसीपुर नगर समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिए ।
नेवार राष्ट्रिय मञ्च, तुलसीपुर नगर समितिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको श्रेष्ठले बताए । नेवा राष्ट्रिय मञ्च, तुलसीपुर नगर समितिका अध्यक्ष श्रेष्ठले नेवारी समुदायको मौलिकता र खानाको महत्वलाई उजागर गर्न महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवका क्रममा नेवारी परिकारहरूको विशेष प्रदर्शनी र बिक्री हुनेछ । नेवारी समुदायका प्रशिद्ध परिकार जस्तै बारा, यामरी, छोयला, सःगती, आलु तामा, वोजी लतामारी, तथा परम्परागत नेवारी रक्सी जुँनलगायतका परिकारहरू महोत्सवका मुख्य आकर्षण हुने छन् । त्यसका साथै, नेवारी खाना पकाउने प्रतियोगिताका माध्यमबाट स्थानीय शेफ र महिलाहरूले आफ्नो पाक कला प्रदर्शन गर्ने अवसर पाउने छन् ।
स्थानीय तथा राष्ट्रियस्तरका व्यक्तिहरूको सहभागिता रहने यो महोत्सवले सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने आयोजकले बताएको छ । अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवको उद्देश्य नेवारी खानाको प्रवर्द्धन गर्दै तुलसीपुरलाई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको छ । यसले नेवारी संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने तथा स्थानीय उत्पादन र उद्यमशीलतालाई आर्थिक रूपमा सबल बनाउन सहयोग गर्ने आयोजकको भनाइ छ ।
त्यस्तै नेवा राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष नरेशराज भण्डारीले महोत्सवले नेवारी संस्कृति र परम्पराको जगेर्ना गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे । नेवा राष्ट्रिय मञ्चले विविध जातजाति र समुदायबिच आपसी सद्भाव र एकता बढाउने लक्ष्यका साथ महोत्सवमा सबैलाई सहभागी हुन आग्रह पनि गरेको छ । खाना महोत्वस आजदेखि सुरु भई दिनको दुई बजेदेखि बेलुकाको सात बजेसम्म सञ्चालन हुने छ ।