पालुङटार नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । ‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने मूल नाराका साथ नगरपालिकाको १३औँ नगर सभामार्फत नीति तथा कार्यक्रम ल्याएको हो ।

नगर प्रमुख विवश चिन्तनद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा अघिल्ला वर्षका योजना नै धेरै निरन्तरता दिएका छन्। केही नयाँ योजनाका साथ ल्याएको नीति तथा कार्यक्रम अघिल्ला वर्षमा कार्यान्वयन नभएका या अधुरा भएका आयोजना तथा योजना सक्ने लक्ष्य राखिएको छ ।

स्मार्ट नगरपालिका बनाउन कस्सिएका मेयर चिन्तन पछिल्लो समय संघ र प्रदेश सरकाले प्रत्याप्त मात्रामा बजेट नदिएको भन्दै गुनासो गरेका छन् । उनले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भनेका छन् – ‘संघ र प्रदेशबाट अनुदान र राजश्व बाँडफाँडमा बजेट कटौती भएको र पालिकाको आन्तरिक स्रोतमा समेत अपेक्षाकृत वृद्धि हुन नसकेकाले साेचेकाे जस्ताे लक्ष्य हासिल गर्न सकिएन।’

संवृद्ध पालुङटार निर्माणको अभियानमा रहेकाे र यो अभियान सफल पार्न सबैको सहयोगको अपेक्षा गरेका छन् । नीति तथा कार्यक्रम अघि काठमाडौँमा विज्ञ भेला गरेर सुझाव मागेका मेयर चिन्तनले अझै नगरपालिकासंग विद्यमान स्रोत र साधनको परिचालन गरी समृद्ध पालङटार बनाउने योजना प्रस्तुत गरेका छन्।

नीति तथा कार्यक्रममा भनिएको छ- ‘हामी समक्ष विद्यमान स्रोत र साधनहरूको उच्चतम प्रयोग गरी संवृद्ध पालुङटार निर्माणको अभियानमा निरन्तर अगाडि बढ्न हामी दृढ संकल्पित छौँ । कृषिमा आधारित ग्रामीण अर्थतन्त्रको विकास गरी स्वरोजगारको माध्यमद्वारा संवृद्ध पालुङटार निर्माण गर्ने योजनामा सरोकारवाला सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा समेत गरेको छु ।’

अघिल्लो आर्थिक वर्षमा प्रस्तुत गरेका कार्यक्रम नै धेरै समावेश गरेका मेयर चिन्तनले केही नयाँ योजना पनि ल्याएका छन् । निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता, गत वर्षमा नगरपालिकाले तयार परेकाे नीति कार्यक्रम तथा योजना तथा आवधिक विकास योजना, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तीकरण तथा समावेशी विकास, बालमैत्री तथा वातावरणमैत्री स्थानीय शासन, पूर्ण सरसफाइ लगायतका विषयमा केन्द्रित रहेर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको चालु आर्थिक वर्षको प्रगति ५६.६५ प्रतिशत रहेको भन्दै उनले पुँजीगत खर्चतर्फ ४५.६५ प्रतिशत र चालु खर्च तर्फको वित्तीय प्रगति ६४.३३ प्रतिशत रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यसम्म ७१ प्रतिशत खर्च हुने उनले अनुमान गरेका छन् ।

नयाँ योजनामा किसानका गरा सधैँ हराभरा, नगरप्रमुखसँग लोक कल्याणकारी किसान कोष कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्न चाहने युवा उद्यम व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण व्यवस्था, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी र वडा न ७ मा चर्चामा रहेको औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारसँग समन्वयन गर्ने लगायतका छन् ।

यस्तै, नगरपालिकालाई पर्यटकीय सुन्दर नगरीको रूपमा चिनाउने तथा आन्तरिक एवं वाह्‍य पर्यटक भित्र्याई थप आर्थिक अवसरहरू सृजना गर्ने, भुलभुलेखार तातोपानीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, नगर स्तरीय सहिद स्मृति पार्कको स्थापना, प्रविधिमैत्री सहकारी अवधारणा, छुवाछुत मुक्त नगरपालिका, विपन्न वर्गहरूको लागि विशेष कार्यक्रमको अवधारणाको लक्ष्य लिइएको छ ।

नगर उपप्रमुखसँग अभिभावक विहीन अति विपन्न विद्यार्थी सहयोग कार्यक्रम, अमर ज्योति जनता माध्यमिक विद्यालयलाई नमुना आवासीय विद्यालयको रूपमा विकास  गर्ने, सामुदायिक विद्यालयमा निःशुल्क बस सञ्चालन गर्ने, प्रविधि मैत्री शैक्षिक कार्यक्रम, दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, उत्कृष्ट शिक्षक प्रोत्साहन, जेहनदार विद्यार्थीलाई छात्रवृत्ति, आवासीय मेघा विद्यालय, कृषि क्याम्पस सञ्चालन गने लगायतका कार्यक्रम छ ।

आँपपिपल अस्पताललाई ५० शैयामा स्तर उन्नति गरी प्रदेश सरकारलाई  हस्तान्तरण गर्ने, स्याटलाइट क्लिनिक सञ्चालन गर्ने, नवजात शिशुको बैंक खाता २ हजार जम्मा गर्ने, गरिब बिरामीसँग मेयर कार्यक्रम, ज्येष्ठ नागरिकलाई घर घरमा निःशुल्क स्वास्थ्य परीक्षण, उप-प्रमुखसँग सुत्केरी पोषण कार्यक्रम छन् ।

छुवाछुत मुक्त नगरपालिका, घरमा नै गएर परिचय पत्र वितरण गर्ने, बालबालिकाको जिम्मा अब पालिकाको, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण कार्य पनि सुरु गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।

पालिकाबाट सञ्चालित सडक योजनाहरूको लागी  नदीजन्य निर्माण सामाग्री निःशुल्क उपयोग गर्न दिने, दिगो विकासको आधार, साझेदारीमा पूर्वाधार, स्मार्ट सिटीको अवधारणा लागु गर्ने साथै नगरपालिका भित्र व्यवस्थित व्यवसायी भवन बनाउने लक्ष्य लिइएको छ ।

कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि अनलाइन प्रणाली लागु गर्ने र व्यवस्थित गर्ने, अनिवार्य विद्युतीय हाजिरीको व्यवस्था गर्ने, घरबाटै राजश्व बुझाउने सक्ने व्यवस्था गर्ने, नगरपालिका भित्रको खरिद प्रक्रियालाई पारदर्शी एवं व्यवस्थित गर्ने र संघीय सरकारसँग समन्वय गरी वडा नं ७ को च्याङ्लीमा बनेको भवनहरूको उचित उपयोग गर्ने सार्वजनिक स्थलहरूमा सिसी क्यामेरा जडान गर्ने र सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने नीति लिइएको छ ।

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.