हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले अनुदान रकम प्रदान

तनहुँको व्यास नगरपालिका– वडा नं १को कार्यालयले हलगोरु पाल्ने कृषकलाई मंङगलबार अनुदान प्रदान गरेको छ । वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले बाह्र जना कृषकलाई रु.एक लाख बीस हजार अनुदान रकम प्रदान गरेको हो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कृषकलाई अनुदान रकम प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्ला समयमा गोरु पाल्ने प्रचलन हराउँदै  जान थालेपछि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको बताएका थिए । अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहारविहारमा खर्च गर्न समेत उहाँले कृषकलाई सुझाव दिए । हाते ट्रयाक्टर खरिद गर्न नसक्ने कृषकलाई मध्यनजर राख्दै गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेकोले अनुदान प्रदान गरिएको हो । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिईन् । गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको हो । अठ्ठार जना कृषकले अनुदानका लागि आवदेन दिएपनि वडा भित्र बसेर गोरु पाल्दै आएका कृषकलाई मात्रै छनोट गरिएको वडाध्यक्ष रमेशचन्द्र हडखलेले जानकारी दिए । एक पटक अनुदान पाएका गोरुपालक कृषकलाई दुई बर्षसम्म अनुदान नदिने नगरपालिकाको नियमावलीमा रहेकाले त्यसलाई संशोधन गरी गोरु पाल्ने कृषकलाई बर्षेनी अनुदान दिने व्यवस्था मिलाइएको हडखलेले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.