तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानबाट यस बर्ष लोक गायक राजु परियार सम्मानित हुनुभएको छ।
तुलसीमान श्रेष्ठ स्मृति समाजले काठमाडौँमा विशेष कार्यक्रम गरेर गायक परियारलाई सो सम्मान प्रदान गरेको हो ।
गायक परियारलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले सो सम्मान प्रदान गर्नुभयो ।
सम्मानस्वरुप मन्त्री पाण्डेले सम्मान पत्र र २५ हजार रुपैयाँ गायक परियारलाई प्रदान गर्नुभएको थियो ।
सम्मानपछि गायक परियारले नेपालका होनाहार श्रष्टाहरुको हाराहारीमा आफूलाई राखेर गरिएको सम्मानले लोक गीत र गायनको क्षेत्रमा नयाँ काम गर्ने अभिभारा आएको बताउनुभयो ।
गायक परियारले तुलसीमान श्रेष्ठका अन्वेषण र पुस्तकहरुबाट आफूले नयाँ लोक श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सांसदद्वय कमला पन्त र किरणबाबु श्रेष्ठले स्वर्गीय तुलसीमान श्रेष्ठले शैक्षिक, राजनीतिक र लोक साहित्यको क्षेत्रबाट उल्लेख्य योगदान गर्नुभएको चर्चा गर्नुभयो ।
यसैगरी, नेपाली काँग्रेसका युवा नेता एवं पालुङटार नगरपालिकाका पूर्व मेयर दिपकबाबु कँडेलले तुलसीमान श्रेष्ठ लोक साहित्यका अतिरिक्त एक असल समाजसेवी भएको स्मरण गर्नुभयो ।
स्वर्गीय श्रेष्ठका छोरा डा निरजमान श्रेष्ठले लोक साहित्यसँग जोडिएका सर्जकहरुलाई हरेक बर्ष गरिने सम्मानले लोक साहित्यको क्षेत्रमा केही न केही योगदान पुग्ने र यसले आफ्नो बुबाको इच्छा र सपनालाई केही हदसम्म भनेपनि साकार पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक एवं नेपालटिभीअनलाइनका संयोजक गोविन्द धितालले गण्डकी सेरोफेरोका लोक भाका र लोक झंकारहरुलाई स्वर्गीय तुलसीमान श्रेष्ठले अध्यापन, अनुसन्धान र पत्रकारितामार्फत समेत उजागर गरेको उल्लेख गर्नुभयो ।
हजारौँ लोक गीत गाएर चर्चा कमाउनु भएका परियार लोक दोहोरीको क्षेत्रमा सालिन व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
लम्जुङ बेशीशहरमा जन्मनु भएका परियारका चर्चित गीतहरु सुनपानीले छर्क मायालु, मिर्मिरेको घाम, लम्जुङ्ग जाने दाइ, रुमाल धोको छु लगायतका हजारौँ गीतहरु छन ।
शैक्षिक, राजनीतिक र लोक साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका स्वर्गीय तुलसीमान श्रेष्ठको नामबाट यो सम्मान स्थापना भएको हो ।
यो सम्मानबाट विसं २०७५ देखि लगातार लोकगीत र लोकगायन तर्फका चर्चित व्यक्तित्व अरु सम्मानित भइसक्नुभएको छ /
nepaltvonline