तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ ।असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । अभियानका कारण विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुट्न थालेको हो ।सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाबाट रु ५१ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संस्थाको हालै बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक दयाराम शर्माले बताउनुभयो ।रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई अपनत्व प्रदान गर्दै संस्थाले सो निर्णय गरेको अध्यक्ष तुलसीराम सुवेदीले बताउनुभयो । त्यसैगरी सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि ब्यास–१० दुम्सीकोटका अञ्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेको बताइएको छ ।उपशाखाका सभापति स्व शङ्कर गिरीका छोरा रमेश गिरीले रु १० हजार अर्थ सङ्कलन समितिका संयोजक ईश्वर पौडेललाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी अभियानलाई व्यासनगरपालिका-१० दुम्सीचौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मानबहादुर दरै तथा आमा शान्ति माया दरैको स्मृतिमा रु ११ हजार १११ प्रदान गर्नुभएको छ ।सो अभियानलाई व्यासनगरपालिका–१० दुम्सीस्थित शिवालय आमा समूहले रु एघार हजार १११ प्रदान गरेको छ । उक्त सहयोग रकम आमा समूहकी अध्यक्ष उषा थापाले उपशाखाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको संस्थाका उपसभापति विष्णुप्रसाद अधिकारीले बताउनुभयो । त्यसैगरी उक्त उपशाखा सचिव एवं युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले रु पाँच हजार ५००, व्यासनगरपालिका-१० डिहीगाउँ निवासी नेत्रबहादुरले रु पाँच हजार ५५५ सहयोग गर्नुभएको छ ।
एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी
Facebook Comments Box