१७ चैत्र, बन्दीपुर
कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलन दिन सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन बन्दीपुर गाउँपालिकाले जरिवाना कार्यक्रम अगाडि ल्याएको छ । गाउँपालिकाको सम्पन्न बैठकले लकडाउनको उल्लंगन गरी समूहमा जम्मा भएर जुवातास खेल्ने र खेलाउनेलाई १० हजार, भलिवल/फुटबल तथा व्याट्मिन्टन खेल्नेलाई ५ हजार र अनावश्यक रुपमा घरबाहिरा हिड्नेलाई एक हजार रुपैया“ जरिवाना गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिमलाई न्युनिकरण गरी उक्त भाइरसको रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिका अध्यक्ष पूर्णसिं थापाको संयोजकत्वमा १२ सदस्यीय ‘कोभिड-१९ कमाण्ड पोष्ट’ गठन गरेको छ । कमाण्ड पोष्टद्वारा कोभिड-१९ संक्रमण सम्बन्धी सचेतना कार्यक्रमका साथै लकडाउन उल्लंगन गर्नेलाई कारवाही गर्ने गाउँपालिकाले जनाएको छ । संक्रमितहरुलाई सेल्फ क्वारेन्टाइनमा राखि अन्य व्यक्तिहरुमा र्सन नदिने र संक्रमितहरुलाई पनि सुरक्षित स्थानमा राखि संक्रमण पहिचान गर्नका लागि गाउँपालिकाको ज्योती प्राथमिक विद्यालय, देउराली प्राथमिक विद्यालय, शिव माध्यमिक विद्यालय, रत्नराज्य निम्नमाध्यमिक विद्यालय, चन्द्रोदय प्राथमिक विद्यालय र अरुण माध्यमिक विद्यालयमा क्यारेन्र्टाईन बनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
वडाका बासिन्दालाई पायक पर्ने ठाउँमा क्यारेन्टाइनको व्यवस्था गरिएको छ’, उनले भने, ‘प्रत्येक स्थानमा हाललाई ३/३ वटा बेडको व्यवस्था गरिएको छ र आवश्यकता अनुसार बेडको संख्य बढाउने छौं।’ क्यारेन्टाइनमा आवश्यक पर्ने बेड, सिरक, डसना, खानाखाजा लगायतका व्यवस्थापन गाउँपालिकाले नै व्यहोर्ने उनले बताए।यस्तै, बजारमा दैनिक उपभोग्यका बस्तुहरु अभाव हुन नदिन र बजारलाई निर्धारित समय तालिकामा बमोजिम नियमित गर्न गाउँपालिकास्तरीय बजार अनुगम समितिले आवश्यकता अनुसार बजार अनुगमन गर्ने निर्णय गरिएको अध्यक्षा थापाले बताए ।
गाउँपालिकाको ६ वटै वडामा वडास्तरीय ‘कोभिड-१९ कमाण्ड पोष्ट’ गठन गरिने भएको छ । उक्त कमाण्ड पोष्टलाई कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरिने विभिन्न सचेतना मुलक कार्यक्रमका तथा भाइरस संक्रमित संकास्पद बिरामी देखिए तुरुन्त उपचारको लागि अस्पताल पुर्याउनका लागि आवश्यक पर्ने सुरक्षा सामाग्री गाउँपालिकाले नै उपलब्ध गराउने भएको छ ।
अध्यक्ष थापा अनुसार ‘कमाण्ड पोष्ट’ टिमलाई एकसय थान व्यक्तिगत सुरक्षाका सामाग्री, २ हजार थान साधारण माक्स, २ सय थान एन-९५ माक्स, ४० लिटर सेनिटाइजर र ३० सेट क्वारेन्टाइन वेड उपलब्ध गराइने भएको छ । यस्तै, गाउँपालिकाभित्र कुनैपनि स्थानबाट कोभिड-१९ का बिरामीलाई उपचार गराउन लानुपर्ने अवस्थामा सम्बन्धित वडाध्यक्षसंग समन्वय गरी उपलब्ध जुनसुकै साधनबाट पनि स्वस्थ्य संस्थासम्म पुर्याउने वातावरण मिलाउन सुरक्षा निकायसंग समन्वय गर्ने बैठकमा निर्णय गरेको छ ।