गाेरखाकाे शहिद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना

गोरखा, १४ चैत :  गोरखाका दुई गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका बिच बिभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमती गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो । भौगोलिक हिसावले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा बिकास निर्माणमा समेत सजिलो हुने भएकाले दुई पालिका बिच भगिनी सम्बन्ध स्थापना गरेर अघि बढ्ने निर्णयका साथ सम्बन्ध स्थापना भएको उहाँको भनाई छ ।

‘दुवै गाउँकार्यपालिकाको संयुक्त बैठक बसेर बिभिन्न ११ बुदेँ सहमति सर्वसम्मत पारित गरेर दुवै पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरेका छौ, उहाँले भन्नुभयो, यसबाट अब एउटा गाउँपालिकाले गरेका राम्रा कामहरुको रचनात्मक सिको अर्को गाउँपालिकाले गर्ने नयाँ अबसर प्राप्त भएको छ ।’ अध्यक्ष थापामगरले दुवै गाउँपालिकाको सिमानामा पर्ने रणनीतिक सडक, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतीका लागि मिलेर संघ प्रदेशलाई घच्घच्याउने सहमती भएको जानकारी दिनुभयो ।

‘पालिका स्तरबाट बिनियोजन गर्नसक्ने बजेटका सवालमा साँध सिमानामा पर्ने सडक निर्माणका लागी दुवै पालिकाले मिलेर बजेट बिनियोजन गर्ने वा थप बजेटको आवश्यकता परेमा केन्द्र र प्रदेशमा संयुक्त समन्वय गर्ने भन्ने बुझाई बनेको छ, उहाँले भन्नुभयो, यो बुझाईले दुवै पालिकालाई लाभ हुनेछ ।’ त्यस्तै दुई पालिका भित्र रहेका पर्यटकिय क्षेत्रका एक आपसमा प्रचारप्रसार गर्ने तथा आन्तरिक पर्यटक प्रवद्र्धनमा मिलेर काम गर्ने सहमती समेत भएको अध्यक्ष थापामगरले बताउनुभयो ।

 

भगिनी सम्बन्धले एक गाउँपालिकाले गरेका रचनात्मक कार्यको सिकाई अर्को गाउँपालिकाले गर्ने गरी कार्यको थालनी भएको उहाँको भनाई छ । सहमती पत्रमा हस्ताक्षर गर्नुहुदै गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बिकासमा राजनीति गर्नुहुदैन भन्ने सिकाई शहिद लखन गाउँपालिकाबाट सिक्नुपर्ने बताउनुभयो । ‘शहिद लखन गाउँपालिकाले बिकासमा राजनीति गर्नुहुदैन भन्ने उद्देस्यका साथ जुन सफलता हासिल गर्नुभएको छ त्यो सवैले हामीले पनि मनन् गरेर अघि बढ्नुपर्छ, अध्यक्ष रानामगरले भन्नुभयो, गण्डकी गाउँपालिकाले पनि शहिद लखन गाउँपालिकाबाट सिक्नुपर्नेछ ।’

दुवै गाउँपालिको संयुक्त कार्यपालिकाको बैठकमा दुवै गाउँपालिका प्रशासकिय प्रमुख तथा सहभागी कार्यपालिका सदस्यहरुले आ–आफ्नो पालिकाले गर्दै गएका रचनात्मक कामको बारेमा जानकारी गराएका थिए । ‘बैठकमा एक पालिकाले गरेका रचनात्मक कार्यको बारेमा जानकारी गराउदा अर्को पालिकाले जान्ने बुझ्ने र सिक्ने मौका पनि प्राप्त भयो, शहिद लखन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जीवनबहादुर आलेमगरले भन्नुभयो, ‘त्यस बाहेक सिमाना जोडिएका पालिका बिच कर तथा सेवाशुल्क दस्तुरमा भएका असमानताका कारण नागरिकहरुको बुझाई फरक भएकाले कसरी एक रुपता कायम गर्न सकिन्छ भन्नेमा समेत छलफल गरेका छौ ।’

त्यस बाहेक दुबै पालिका बिच कृषिजन्य उत्पादन तथा बजार व्यवस्थापनमा संयुक्त पहल गर्ने, बिपतमा एक अर्कालाई सहयोग गर्ने, लगायतका सहमति भएको उहाँको भनाई छ । सहमति पत्रमा गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानामगर, उपाध्यक्ष ललिता अधिकारी र सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापमगर, उपाध्यक्ष इन्दिरा तिवारी सहित दुवै पालिकाका प्रमुख प्रशासकिय अधिकृतले आइतबार हस्ताक्षर गरेका हुन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.