सांसद गायब भएपछि सदन स्थगित

पोखरा : गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उनकै दलकी सांसद पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गर्न पत्र दिएकी थिइन । सोही पत्रानुसार सभामुख नेत्रनाथ अधिकारीले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गरिदिएका हुन् ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । सदनमा बुधबार २० जना सांसदले बोलेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र मतदान गर्ने भनिएपनि सांसद अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । सांसद शाहीले मत नहाल्दा विपक्षी मोर्चाले पेस गरेको अविश्वास प्रस्ताव फेल हुन्छ । एमालेका माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा भने सरकार ढल्ने थियो । तर सांसद नआएपछि विपक्षी मोर्चा सशंकित भएर बैठक स्थगनको माग गरेको थियो ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले शाहीबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । सदन सुरु हुनु अगाडि फोनमा कुरा भए पनि त्यसपछि शाहीसँग सम्पर्क नभएको उनले बताए । ‘उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो । मतदान हुँदासम्म आउँछु भन्नुभएको थियो, अहिले कहाँ जानुभयो थाहा भएन,’ उनले भने ।

शाहीलाई खोज्न जनमोर्चा, कांग्रेस र जसपाका ३ सांसद गए पनि उनीहरुले फेला पार्न सकेनन् । शाहीलाई खोज्न जनमोर्चाकी पियारी थापा, कांग्रेसका मेखलाल श्रेष्ठ र जसपाकी धनमाया लामा गए पनि रित्तोहात फर्किएका हुन् ।  ’माननीयहरू गाडी लिएर जानु भएको थियो तर, शाही माननीय कतै भेटिनु भएनछ,’ कांग्रेसका एक सांसदले भने ।
६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । खिमविक्रम शाहीलाई समेत अंक गणितमा सामेल गरेर कांग्रेस नेतृत्वको मोर्चाले ३१ सांसद पुग्ने आँकलन गरेको थियो । यता सत्तारुढ एमालेसँग एक स्वतन्त्र सांसद सहित २८ सांसद छन् ।

शाहीका स्वकीय सचिव मिलन हमालले शाही अस्वस्थ भएर चरक मेमोरियल अस्पतालमा भर्ना भएको बताएका छन् । मध्यान्ह १२ बजे स्वास्थ्यमा गडबडी आएपछि उनलाई अस्पताल भर्ना गरिएको उनले बताए । अस्पताल स्रोतले पनि शाही अस्पतालको आईसियूमा रहेको पुष्टि गरेको छ । ‘आईसियुमा हुनुहुन्छ, कोरोनाको लक्षण छ,’ अस्पताल स्रोतले भन्यो । तर मंगलबार प्रदेश सभाले गराएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

                     शाहीको कोभिड रिपोर्ट नेगेटिभ रहेको पत्र 

सदनमा मतदानका दिन अनुपस्थित हुने शाही एक्ला सांसद भने होइनन् । मनाङ ‘ख’बाट निर्वाचित दीपक मनाङे पनि बुधबार अनुपस्थित थिए । उनले आफूलाई मनाङका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध मत नहाल्न भनेपछि सदनमा अनुपस्थित भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई मेरा मनाङका जनताले पिएसविरुद्ध  नलाग्न भनेपछि म नगएको हुँ,’ उनले भने ।

एमाले सांसद धनञ्जय दवाडीले इतिहासमै नभएको घटना सभामुखले गण्डकीमा गराएको बताएका छन् । सांसद अनुपस्थित हुँदैमा सदन स्थगित गर्नु दलीय राजनीतिबाट प्रेरित काम भएको र अलोकतान्त्रिक रहेको उनले बताए । ‘संसारमै नभएको घटना गण्डकीमा सभामुखले घटाउनुभयो, भोलिबाट एक जना सांसद अनुपस्थित भए पनि स्थगित गर्दै जानुपर्छ,’ उनले भने, ‘होइन भने सभामुखले तत्कालै राजीनामा दिनुपर्छ ।’

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.