बिद्यालयले गल्ती गर्दा कक्षा १२ काे नतिजा ढिलाे हुने

काठमाडौं /१० पुस – विद्यालयको त्रुटिका कारण कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गल्ती नगरेको भए पुसको दोस्रो साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

विद्यालयले हातले लेखेर मनपरीरुपमा सिम्बोल नम्बर इन्ट्री गरी पठाएको कारण समस्या परेको हो । तोकिएको निर्देशन अनुसार सिम्बोल नम्बर लेख्नुपर्नेमा मनोमानीरुपमा लेखेका कारण समस्या परेको बोर्डको भनाइ छ ।

‘सिम्बोल नम्बर पठाउँदा मनपरी भएको कारण पुसमा परीक्षाफल प्रकाशित गर्न समस्या पर्ने देखिएको छ । तैपनि पुसको अन्तिम सातामा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौं।’ –बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नुभयो । उहाँले उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि भएका कारण थप समस्या सिर्जना भएको बताउनुभयो ।

बोर्डले केही विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्दा गलत भेटिएपछि सबै उत्तरपुस्तिका परीक्षण गर्न सम्बन्धित विषय शिक्षकलाई नै बोलाएर परीक्षण गर्न लगाएको थियो । एउटा विद्यार्थीको परीक्षण गलत भेटेपछि सबै विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्न लगाएको बोर्डको भनाइ छ ।

‘सबै विषयमा प्रशिक्षण दिँदा, पटकपटक सिकाउँदा पनि विद्यालयबाटै दोहो¥याएर गल्ती गरेका कारण परीक्षाफल प्रकाशित गर्न ढिला हुने भएको छ।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो । यतिसम्म कि केही विद्यालयले २० प्रतिशत अंकको आन्तरिक मूल्याङ्कन गर्नुपर्नेमा २० अंकको गर्दा थप समस्या देखिएको छ । बोर्डले यस्तै अवस्थाको कारण परीक्षाफल प्रकाशितमा ढिलाइ हुने जनाएको छ ।

परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ । तर कतिपय विद्यालयले ढिलो गरी उत्तरपुस्तिका पठाएका थिए । केही विद्यालयले त नम्बर पठाउँदा, प्रयोगात्मक परीक्षाको अंकसमेत त्रुटि गरी पठाएको बोर्डको भनाइ छ ।

बोर्डले स्नातक तहको कक्षा सञ्चालन गर्न मिल्ने गरी पुस १५ भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।
‘समस्या भएपछि अन्य उत्तरपुस्तिका परीक्षण लगायतका काम सकिएर इन्ट्री गर्ने प्रक्रिया शुरु गर्दा समस्या आएको हो।’ –बोर्डका अध्यक्ष प्राडा पौडेलको भनाइ थियो । इन्ट्री गर्न करिब दुई साता लाग्ने अवस्था देखिएको छ । बोर्डले इन्ट्री गरेको करिब एक साताभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.