रविन्द्र कंडेल
१४ साउन, गोरखा ।
साउनको पहिलो सातादेखिको बर्षाका कारण पालुङ्टार नगरपालिकाभित्र भएको क्षतिको बिबरण संकलन गर्ने कार्य शुरु भएको छ ।
नगरपालिकाभित्र श्रावन ४ गतेदेखिको बर्षाका कारण धेरै क्षति पुर्याएपछि क्षतिको बिवरण संकलन गरी राहत प्याकेज बनाउनको लागि बिवरण संकलन गर्न लागिएको नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयो ।
लगातारको बर्षापछि नगरपालिका क्षेत्रभित्र ३० भन्दा बढी घरहरु जोखिममा परेका र तीमध्ये केहीलाई अन्यत्र स्थानान्तरण गरी सुरक्षित राखिसकिएको छ भने अन्यलाई पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
त्यस्तै गरी क्षतिको बिवरण संकलन गर्न वडा नंं. ६, ७ र ८ का लागि वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको संंयोजकत्वमा काम भइरहेको छ । हालसम्म वडा नं ८ का क्षति संकलन गरिसकिएको र वडा नंं ७ मा केही बाँकी रहेको अनि वडा नं.६ मा केही बाँकी रहेको वडाध्यक्ष बराकोटीले बताउनुभयो । केही दिनमै पूर्ण बिवरण संकलन गरी पेश गर्ने बराकोटीले बताउनुभएको छ । बिबरण संकलनको टोलीमा वडा नं. ७ का वडासदस्य दिनेश खत्री, प्राबिधिक अनिल खत्री तथा अस्थायी प्रहरी पोष्ट बिरुवाटारका प्रतिनिधी रहेका छन् ।
वडा नं. ८ का विभिन्न स्थानहरुमा गरी ५ घर जोखिममा रहेका र अन्य संरचनाहरु धेरै बिग्रिएका छन भने वडा नं. ७ मा पनि केही घरहरु जोखिममा रहेका र बाटो, खानेपानी लगायतका संरचनाहरु बिगारेको र भने जुडीखोला तथा प्याउदीखोला आसपासका सयौं रोपनी खेत बगरमा परिणत भएका छन् । त्यस्तै अन्य वडाहरुको बिबरण आउन बाँकी रहेको र पूर्ण रुपमा बिवरण आएपछि के गर्ने भन्ने बिषयमा निर्णय गरिने नगर प्रमुख कंडेलले बताउनुभएको छ ।
पालुङ्टारमा क्षतिको बिबरण संकलन गरिंदै
Facebook Comments Box