धनुषा : धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह छन् । सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।
गत शुक्रबार कुर्थाकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि १ किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । उनी भैंसी चराउन गएकी थिइन् ।
आँपको प्रलोभन देखाएर करणी
सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा ५ महिनायता काम गर्दै आएका थिए । उनी काम गर्ने इन्डष्ट्रिजमा बालिका गत असार १८ गते आँप टिप्न पुगेकी थिइन् ।
सिंहले आँप दिने प्रलोभन देखाइ ललाइफकाइ इन्डष्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर बालिकासँग करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हत्यापछि सिंहले बालिकालाई ब्ल्यांकेटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । यद्यपि ब्ल्यांकेट ५० फिटको दूरीमा रहेको खेतमा माटोले पुरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
बालिकाको शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सिंहलाइ आइतबार पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
साैराहा अनलाइनबाट