एजेन्सी। संसारभरिका वैज्ञानिकहरूमाझ बहस उठ्ने गरी फ्रान्सका सरुवा रोग विशेषज्ञ तथा चिकित्साशास्त्रका तर्फबाट नोबेल पुरस्कार विजेता वैज्ञानिक लुक मोंतानिएले कोरोनाभाइरस महाव्याधि प्रयोगशालामा बनाइएको दाबी गरेका छन् ।
चिनियाँ प्रयोगशालामा एड्स भाइरसको खोप बनाउने क्रममा सार्स–कोभ–२ भाइरस बन्न पुगेको उनले बताए ।
फ्रान्सको एउटा मेडिकल पोडकास्टमा कुरा गर्दै सन् २००८ का नोबेल पुरस्कार विजेता मोंतानिएले कोरोनाभाइरसको जिनोममा एचआईभीका तत्त्व र मलेरियाको कीटाणु पाइएकाले यो प्राकृतिक रूपमा आयो भन्ने विषयमा शंका उत्पन्न गराएको छ भने ।
कोरोनाभाइरसहरूको विशेषज्ञता हासिल गरेको वुहान नेसनल बायोसेफ्टी ल्याबोरेटोरीमा औद्योगिक दुर्घटना भएको र भाइरस त्यहाँबाट बाहिर आएको मोंतानिएले बताए ।
अमेरिकाले चीनको प्रयोगशालाबाट भाइरस बाहिर आएको हुन सक्ने विषयमा अनुसन्धान शुरू गरिरहेको बेलामा मोंतानिएको भनाइ सार्वजनिक भएको हो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केही दिनअघि भनेका थिए, ‘हामीहरू यो कथा आजकल बाक्लै सुनिरहेका छौं र अमेरिकाले यस विषयमा व्यापक अनुसन्धान गरिरहेको छ ।’
तर मोंतानिए विवादास्पद छवि भएका मानिस हुन् र उनले प्रकाशन गरेका दुईवटा अध्ययन निष्कर्षलाई वैज्ञानिक समुदायले आलोचना गरेको थियो । उनले डीएनएबाट निस्कने विद्युत्–चुम्बकीय तरंग र एड्स वा पार्किन्सन्समा मेवाले गर्ने फाइदा विषयमा अध्ययन गरेका थिए ।
द टाइम्स अफ इन्डियाबाट