नेपाली काँग्रेस गोरखाकाे एक्लै चुनाव लड्ने निर्णय

गोरखा, ११ वैशाख ।

आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गोरखाले  एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगरी ११ वटै स्थानीय तहमा एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा काँग्रेस जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले आठ पटकसम्म बसेको गठबन्धन संयन्त्रको बैठकबाट पनि पालिका बाँडफाँडको विषयमा सहमति जुट्न नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

सभापति न्यौपानेले कांग्रेसले गठबन्धनलाई जिवित राख्न चाहेको तर केही दलका साथीहरुको महत्वकाँक्षाले गर्दा गठबन्धन हुन नसकेकोमा दुखका साथ जानकारी गराउनु परेको बताउनु भयो । ‘ कांग्रेसले गठबन्धनलाई जीवित राख्न चाहान्थ्यो दु:खको साथ भन्नु पर्छ, केहि दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले हामीले गठबन्धनलाई सबै सँग मिलेर जान सकेनौ’ उहाँले भन्नु भयो राजनितिक सम्बन्ध हाम्रो बिचमा रहि रहन्छ र हामी हाम्रो संगठनको तागत र बल अनि पार्टीका साथीहरुको मनोभावनालाई कदर गर्दै ११ वटै स्थानिय तहमा एक्लै चुनाव लड्ने निर्णय गरेको’ बताउनु भयो ।

गठबन्धनमा कांग्रेस लचिलो बन्नु पर्ने विषयमा २०७४ सालको निर्वाचनमा जितेको ९ पालिकाको प्रमुखको दावी छोड्दा समेत सहमति हुन नसकेको उहाँको भनाई छ । सहमतिका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी लचिलो बने पनि जनता सामाजवादी पार्टीले भने कम्तिमा २ वटा पालिका, २५ वटा वडा र एक सय सदस्यको दाबी नछोडेपछि गठबन्धन गरेर निर्वाचनमा जाने सम्भावना अन्त्य भएको सभापति न्यौपानेले  जानकारी दिनु भएको छ ।

निर्वाचनलाई स्वच्छ बनाउनका लागी दलहरु सँगको संवादलाई भने खुल्ला गरिएको उहाँले जनाएका छन् । सभापति न्यौपानेले  जिल्ला भित्रका ९४ वटै वडाको उम्मेदवार करिब टुंगो लागेको र पालिकाको हकमा भने साँझसम्म प्रदेश कमिटिले टुंगो लगाउने बताउनु भएको छ ।

Back to top button
Close