
प्याब्सन गोरखाको अध्यक्षमा कमल थापा चयन भएका छन् । शुक्रवार सम्पन्न भएको छैठौँ अधिवेशनले यसअघिको समितिमा सचिव रहेर काम गरिरहेका थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा लक्ष्मी खत्री, सचिव अमिर अधिकारी, कोषाध्यक्ष बाबुराम तिवारी, सदस्यहरुमा बिनोद अर्याल, प्रकाश केसी, भोजराज भट्ट, कृष्ण घले, प्रशान्त सिलवाल, गणेश गुरुङ, दिक्पाल अधिकारी, दिपक गुरुङ, शिबलाल श्रेष्ठ, अनन्त थापा, रुपा पाण्डे चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सीताराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले निजी विद्यालयले शैक्षिक गुणस्तरवृद्धिमा सरकारलाई सहयोग गरिरहेको बताए । ‘समाजमा झट्ट हेर्दा दुईथरी जनशक्ति उत्पादन भएजस्तो देखिन्छ’, उनले भने, ‘तर यसले राज्यको लगानी शिक्षाक्षेत्रमा कम मात्रै गराएको छैन, गुणस्तरमा पनि बढवा दिएको छ ।’
प्याब्सन गोरखाका निवर्तमान अध्यक्ष तिवारीले निजी तथा आबासीय विद्यालय संचालकहरुले सरकारलाई कर तिरेर ऐन नियमभित्र रहेर संचालन गरिरहेको बताए । ‘हामीले सामाजिक उत्तरदायित्व पनि पूरा गरेका छौँ’, उनले भने ‘नाफामुखी नजरले हेर्ने र सरकारको ऐन नियम निजी विद्यालयलाई अंकुश लगाउने खालको आउँदा समस्या भएको छ ।’ अहिले माध्यमिक शिक्षासम्मको अनुमति दिने अधिकार स्थानीय सरकारलाई दिएकाले निजी विद्यालय सञ्चालकहरुलाई केहीहदसम्म सजिलो भएको उनले बताए ।
कार्यक्रममा ब्याब्सन गोरखामा रहेर कुशलतापूर्वक काम गर्नेहरुलाई सम्मान गरिएको थियो । गोरखा नगरपालिका शिक्षा शाखाका विश्वनाथ वाग्ले, सामुदायिक रेडियो प्रशारक संघ –अकोराब)का महासचिव किशोरजंग थापा, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, प्याब्सन गोरखाका जनक केसी लगायतले मन्तब्य राखेका कार्यक्रम संचालक कमल थापाले बताए । Source: Daraudi