
मुन्नाघर तामाको पाताले छाउने तयारी थियो। त्यसका लागि गोदामभरि तामाका स्लेट तयार थिए। तर श्री ३ लाई त्यो सह्य हुने छैन, भत्काउने छन् भन्ने जानिफकारबाट सुझाव आयो। अन्ततः मुन्नाघर जस्ताका पाताले छाइए। दोस्रो विश्वयुद्धको बेला थियो त्यो। तामाको भाउ बढेको र जताततै खाँचो परेकाले घर छाउन तयार गरिएको गोदामभरिका तामाका पाता डिठ्ठा अमृतबहादुर पन्तको सुझाव अनुसार बेच्न उपयुक्त हुन्छ भन्ने ठानी बेचियो। मुन्नाघर उभिएको धेरै पछिसम्म पनि मझेरीमा, मूलओछ्यानमा, चारवटै तलाका कोठा–चोटामा यस्तै–यस्तै चर्चा चलेको थियो।
पालुङटार नगरपालिका ६ गाईखुरमा उभिएको मुन्नाघर त्यतिबेला न नगरपालिकामा पथ्र्यो, न गाविसमा, न गाउँ पञ्चायतमै। दुई पाखे र मुन्ना गरी दुई खालको घर हुन्छ गाउँतिर। मुन्नाघर एक पाखे हुन्छ। २००५ सालमा भूगोलको राजनीतिक विभाजन थिएन। रामदत्त पन्त चारखालका डिठ्ठा थिए। देव शमशेरका पालामा निष्कासित भएपछि उनी फर्किएर गाईखुर आएका हुन्। पछि चन्द्रशम्सेरसित उनको सम्बन्ध सुमधुर भयो। त्यही अवसर छोप्दै उनले धुवाँकोटको डाँडामा रहेको तामाखानी उत्खनन् गर्ने इजाजत लिए। १९६० सालतिरको कुरा हो, चन्द्र शमशेरबाट इजाजत पाएपछि उनमा खुसीको सीमा रहेन।
वनभरि तामाका मुना फेला पारेपछि यसको उत्खनन रामदत्तबाहेक अरूबाट सम्भव नठानी धुवाँकोटेले उनलाई खबर गरेका थिए। स्थानीय कामदारको प्रयोग गरी उत्खनन आरम्भ गरे। पहिल्यै दिन ८२ धार्नी तामा उत्खनन भयो। अपार सफलताबाट हौसिएका रामदत्त डिठ्ठाले त्यसको आसपास सिद्धबाबाको थान स्थापना गरे। त्यहाँ हरेक मंगलबार पूजा गर्ने रीत बसाले। त्यहाँ नगरा बजाउने नचर्गीलाई रातामाटेमा १० मुरीमाटो बकस दिए। त्यहाँ अहिले पनि हरेक मंगलबार पूजाआजा हुनेगर्छ। खानीभित्र तामा अथाह छ भन्ने जान्दाजान्दै उनले चार वर्षपछि उत्खनन बन्द गरे। १९६९ सालमा उनको देहान्त भयो। पछिका न कुनै व्यक्तिले न सरकारले यसमा रुचि देखाए। साभार: अन्नपूर्णपाेष्ट