कोरोना संक्रमित बोक्दै गाउँपालिका अध्यक्ष

सविन लामिछाने
जेठ २७, २०७८

दमौली। बन्दीपुर गाउँपालिका वडा ४ का एक दम्पतीलाई २ दिनअघि कोरोना पुष्टि भयो । संक्रमणपछि उनीहरु होम आइसोलेसनमै बस्न थाले । तर बुधबार श्वासप्रश्वासमा समस्या भयो । छट्पट्याउन थाले । दम्पतीका परिवार र छिमेकी आत्तिए । गाउँमा एम्बुलेन्स खोज्दा भेटिएन ।

अस्पताल दौडाउन गाडीको बन्दोबस्ती गर्नुपर्ने देखियो । केही समयमै घर अगाडि ग २ च ४२४ नं. को निजी गाडी टुप्लुक्क आइपुग्यो । गाडीको ड्राइभर सिटमा थिए–गाउँपालिका अध्यक्ष पूर्णसिं थापा ।

सबैजना छक्क परे । गाउँपालिका अध्यक्षले दुवै दम्पतीलाई गाडीमा बस्न आग्रह गरे र तत्काल बन्दीपुर अस्पतालसम्म पु¥याए ।
एक स्थानीयले भने, ‘अध्यक्षज्यूले नै गाडी ल्याउनुभएछ । बोकेर लैजान पनि हामी आफैलाई संक्रमण हुने कि भन्ने डर थियो । गाउँलले अध्यक्षज्यूलाई फोन गरेछन् । दुबैलाई बचाउन सफल भइयो ।’
जनप्रतिनिधि चढ्दै आएको गाडी गाउँपालिकाले एम्बुलेन्सको रुपमा प्रयोग गरेको थियो । तर उक्त गाडी स्वाब लिएर पोखरा पुगेको थाहा पाएपछि आफू लिन भएको अध्यक्ष थापाले बताए । उनले भने, ‘अरु एम्बुलेन्स खोज्नुभन्दा आफ्नै गाडी आफैंले चलाएर दुबैलाई अस्पतालमा भर्ना गराएको छु ।’

गाउँपालिकाले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाए पनि ढिलाइ भएपछि जनप्रतिनिधि चढ्दै आएको गाडी नै कोरोना महामारीको बेला सर्वसाधारणको सेवामा लगाइएको हो । गाउँपालिकाले अघिल्लो वर्ष तयार पारेको पूर्वाधारले गर्दा यसपटक कोभिडका बिरामीलाई उपचार गराउन सजिलो भएको बताउँछन्, वडाध्यक्ष थापा । थप जटिल हुन नदिन र संक्रमण रोकथामका लागि टोलटोलमा परीक्षण सुरु भइसकेको उनले सुनाए । ‘शंकास्पद बिरामीको घरघर पुगेर परीक्षण थालेका छौैं । यसमा सबै जनप्रतिनिधि खटिएका छन्,’ उनले भने, ‘कति चाहिँ डरले परीक्षण गराउन निस्किँदैनन् ।’

यो समय अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय नभएको उनको भनाइ छ । अध्यक्ष थापाले भने, ‘अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय यो हैन । निर्वाचित जनप्रतिनिधि भएपछि जनताको सेवामा लाग्नुपर्छ,’ उनले थपे, ‘अहिले अन्य कुरामा भन्दा आफ्ना नागरिक बचाउन आफैं लाग्ने हो ।’ साथै होम आइसोलेसनका संक्रमितको अवस्था बुझ्न गाउँपालिकाले घरदैलो अभियान पनि जारी राखेको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker