Trending

पालुङ्टारका १० महिला दक्ष डकर्मी बने, भूकम्प प्रतिरोधी प्रविधि घर निर्माणमा महत्वपूर्ण याेगदान पुग्ने बिश्वास

गोरखाको पालुङ्गटार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सहिजकरण गरेको वडा नम्बर ९ कायापानीमा संचालन भएको तालिममा १० जना महिलाहरुले सुरक्षित आवास निर्माणका लागि विभिन्न प्रविधि सहित भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम लिएका थिए । समापन कार्यक्रममा बोल्दै पालुङ्गटार नगरपालिकाका मेयर दिपक बाबु कँडेलले १० जना प्रशिक्षित महिलाकै नेतृत्वमा नगर क्षेत्रमा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । इच्छा शक्ति भएमा सहजै सम्पन्न गर्न सक्ने भन्दै उहाँले तालिम प्राप्त महिला डकर्मीहरुलाई भूकम्प प्रतिरोधी प्रविधि सम्बन्धी जानकारी भएकोमा आफु धेरै हर्षित भएको बताउनुभयो । सीप ७ दिने तालिम र प्रमाणपत्रमा सिमित नभएर ७ बर्ष सम्म कायम रहन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, तालिम समापन पश्चात प्रमाणपत्र राख्ने काम मात्र नभएर आफुले जानेको सीप र कौशललाई कार्यान्वयन ल्याउन पर्छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपाध्यक्ष जानुका अधिकारीले तालिम प्राप्त महिला डकर्मीहरुले सुरक्षित आवास निर्माणका लागि पारदर्शी काम गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, तालिमको अवधिमा महिला डकर्मीले भूकम्प प्रतिरोधी घर निर्माण गर्ने शैलिले समेत निपुणता देखाएको छ । दक्ष तालिम प्राप्त महिला डकर्मीलाई पुरुष सरह ज्यालामा समेत समानता कायम गर्नुपर्ने उहाँको भनाई थियो । यस्तै,वडा नम्बर ९ का वडाध्यक्ष भेज राज पाण्डेले महिला डकर्मीलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिएर भूकम्प प्रतिरोधी घर निर्माणको आधार तयार गरिदिएको बताउनुभयो । उहाँले तालिम प्राप्त महिला डकर्मीेहरु आफुले गरेको कामलाई निरन्तरता दिँदै एक अब्बल ठेकेदार समेत बनि सुरक्षित घर निर्माण गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षित महिला डकर्मी शान्ता पुलामी मगरले तालिममा अवधिमा घर निर्माण गर्दा जग्गा छनौट प्रक्रिया देखि निर्माण अवधि भर सुक्ष्म ढंगले निर्माण कार्यमा लागेर भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्ने सिप सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, तालिमले आगामी दिनमा समुदायमा आफुले सिकेको सिप मार्फत घर निर्माण गर्ने र निर्माण गर्ने घरको नेतृत्व लिन समेत अब्बल भएको छु । अवसर दिएमा आफुले सिकेको सीप मार्फत सुरक्षित घर निर्माण गर्न सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले दक्ष डकर्मीका लागि तालिम प्राप्त महिलाहरुले सिकेको सिपलाई संस्थागत संरक्षण गरि र उहाँहरुलाई थप मार्ग निर्देशन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम प्राप्त महिला डकर्मीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker