५ सय बढी संकटासन्न घरधनीकालागि भारत सरकारद्वारा सहयाेग प्राप्त पुननिर्माण प्राधिकरणद्वारा प्राविधिक तथा सामाजिक सहजिकरण

जोखिम वर्गका लाभग्राहीलाई घर पुनर्निर्माणमा सहजिकरण
गोरखाको नगरपालिका तथा गाँउपालिकामा जोखिममा रहेका ५ सय बढी संकटासन्न घरधनीकालागि प्राविधिक तथा सामाजिक सहजिकरण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाको कार्यक्षेत्र २ नगरपालिका (गोरखा र पालुङटार ) तथा ६ गाँउपालिका (धार्चे,सिरानचोक,गण्डकी,शहिदलखन,आरुघाट र अजिरकोट ) मा आर्थिक अवस्था कमजोर भएर हाल सम्म सुरु गर्न नसकेका संकटासन्न उक्त भूकम्प प्रभावितलाई घर पुनर्निर्माणका लागि निर्माणस्थलमै गएर निर्माण सामग्री सहयोग, स्थानीय डकर्मीलाई तालिम मार्फत सहयोग गरेको हो । सन् २०१८ मार्चमा सुरु भएको परियोजना मार्फत गोरखाका २६ हजार ९ सय १२ घरधुरीलाई सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको छ । भूकम्प प्रभावित भूमिहिनलाई जग्गा खरिद गरि घर पुनर्निर्माणमा सहजिकरण, तारजालि प्रविधिको घर निर्माणमा सहजिकरण , जोखिममा परि निर्माण हुन नसेकका घरको पहिचान लगायतमा प्रशासनिक,सामाजिक तथा प्राविधिक कार्यमा सहजिकरण गरिएको परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले बताउनुभयो । परियोजनामा कार्यरत इन्जिनियर, तालिम प्राप्त दक्ष डकर्मी, सामाजिक परिचालक सहित अन्य सहजकर्ताले किस्ता प्राप्त देखि घर पुनर्निर्माणमा सहजिकरण गर्ने गरेको सामाजिक विज्ञ खतिवडाले बताउनुभयो ।
लामो समयको पर्खाइ पश्चात भूकम्प प्रभावित संकटासन्न पालुङटार नगरपालिका वडा नम्बर २ निवासी एक बहादुर अधिकारी घर पुनर्निर्माण सम्पन्न भएकोमा धेरै हर्षित हुनुहुन्छ । एक बहादुरले भन्नुभयो, डि.पी.सी गरेर २ बर्ष देखि रोकिएको घर, आर्थिक अवस्था कमजोर हुँदा सम्पन्न हुने आशा मारिसकेको थिँए, तर परियोजनाका निर्माण सामग्री तथा प्राविधिकको सहजिकरणले घर सम्पन्न हुँदा धेरै खुसि छु ।
गोरखा नगरपालिका वडा नम्बर ४ निवासी एकल महिला कमला कुमारी थापा मगर नागरिकता सम्बन्धी समस्या भएका कारण ५ बर्ष सम्म सम्झौता गर्न सक्नु भएको थिएन । परियोजनाको प्रशासनिक, सामाजिक एवम् प्राविधिक सहजिकरण पश्चात कमलाले भन्नुभयो,प्रशासनिक झन्झटबाट छुटकारा पाई, घर निर्माण अगाडी बढाउन पाएको छु । परियोजनाको स्थानीय डकर्मीलाई दिइएको तालिम मार्फत घर पुनर्निर्माण कार्य अगाडी बढेको छ ।
संकटासन्न भूकम्प प्रभावित भूमिहिन लाभग्राही गोरखा नगरपालिका वडा नम्बर ९ का लाल बाहादुर कामीलाई समेत परियोजना मार्फत जग्गा उपलब्ध गराउन सहजिकरण गरेकाले उहाँको घर छाउने स्थिती सम्म पुगेको छ । आर्थिक अवस्था कमजोर भएका लालबहादुरलाई घर छाउने स्थिती सम्म पुग्न सकिएला जस्तो नलागेको बताउनुभयो । लाल बहादुरले भन्नुभयो,परियोजनाको सामाजिक, प्रशासनिक प्राविधिक सहजिकरणले नै आज छाना छाउने तह सम्म पुगेको छ । चाँडै नै घर सम्पन्न हुँदै छ ।
यस्तै, सिरानचोक गाँउपालिका वडा नम्बर ५ जरेवर निवासी वृद्धा सन्तमाया वि.कलाई धेरै समयको पर्खाईमा घर पुनर्निर्माण सम्पन्न हुने अवस्था समेत देख्नु भएको थिएन । आर्थिक अवस्था कमजोर भएकी सन्तमायाले केही महिना अघि वित्नु भएका श्रीमान मंगले वि.कलाई सम्झदै भावविह्ल हुँदै भन्नुभयो, केही महिनामै घर पनि बनि सक्न लागेको छ, पैसाको अभावमा घर समयमा बन्न सकेन, अहिले सम्पन्न हुन लाग्दा श्रीमान वित्नुभयो ।
संकटासन्न परिवारलाई निर्माणस्थलमै प्राविधिक सहजिकरण गर्दै आउनु भएका परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले भन्नुभयो, विशेष गरि निर्माणाधीन अवस्थामा रहेका संकटासन्न भूकम्प प्रभावित घरधनीका घरमा तालिम दिँदा न्यूनतम मापदण्ड अपनाएर स्थानीयस्तरमा रहेका डकर्मीलाई नै तालिम दिइएको बताउनुभयो ।
परियोजनाका जिल्ला इन्जिनियर दिवस दाहालले संकटासन्न भुकम्प प्रभावित घरधनीको निर्माणस्थल घरमै गएर राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इँटाको गारो, सुधारात्मक विधि, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायत विभिन्न ढाँचामा तालिम दिई जोखिम वर्गमा पर्ने भूकम्प लाभग्राहीलाई प्राविधिक सहजिकरण समेत गर्ने गरिएको बताउनुभयो ।

Back to top button