
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ ।
जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरसको खोप बनिरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको सकारात्मक परिणाम भए पनि भाइरस विरुद्ध लड्नका लागि अझै काम गर्न आवश्यक भएको बताउनुभएको हो ।
उहाँले जबसम्म खोपको पूर्ण सफलता मिल्दैन तबसम्म जीवन बचाउन आवश्यक रहेको बताउनुभयो । कोभिड–१९ विरुद्धको खोप विकासमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ । खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टीबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने देखिएको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख १९ हजार नाघेको छ ।बुधबार बिहानसम्म भाइरस संक्रमितको संख्या करिब १ कारोड ५१ लाख पुगेको छ । ९१ लाख १० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा छन् ।
अमेरिकामा ४० लाख २८ हजार भन्दा बढी संक्रमित हुँदा करिब १ लाख ४४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका देश मध्ये ब्राजिलमा ८१ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा २८ हजार ७ सय ७० को मृत्यु भएको छ भने ११ लाख ९४ हजार बढी संक्रमित रहेका छन् ।