गोरखामा आत्महत्या दुरुत्साहन आरोपमा ३ जना पक्राउ

मोहसिन अलि मियाँ
गोरखा ।
 बिरेनचोककी २३ बर्षिय युवतीले केहि दिन अघि आत्महत्या गरेको घटनाले नयाँ मोड लिएको छ । गोरखा नगरपालिका १० बिरेनचोककी विजिता रानालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनका परिवारले ३ जना विरुद्ध दुरुत्साहन मुद्धा दर्ता गराएका हुन ।

घटनालाई लिएर उनका बाबु जुद्ध बहादुर रानाले आइतबार जिल्ला प्रहरी कार्यालय गोरखामा छोरीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउदै छिमेकी ३ जना विरुद्ध किटानी जाहेरी दिएको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

किटानी जाहेरी आएपछि जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको बिशेष टोलीले सोमबार मन्जु राना, हिरा राना र मनमाया रानालाई नियन्त्रणमा लिएको एसपी गुरुङले बताए । आरोपीहरुमा मन्जु र हिरा मनमायाकी छोरीहरु हुन ।

‘आत्महत्या दुरुत्साहनको किटानी जाहेरी आएपछि हामीलाई अदालतबाट पक्राउ पुर्जि आयो, त्यस लगत्तै हामीले उहाँहरु सबैलाई नियन्त्रणमा लिएका छौ’ एसपी गुरुङले भने ‘अहिले हिरासतमा राखेर अनसन्धान गर्ने क्रममा छौ ।’ पक्राउ परेका उनिहरुलाई सोमबार जिल्ला अदालत गोरखाले आत्महत्या दुरुत्साहन मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ ।

आत्महत्या गर्नु केहि दिनअघि विजिताले नातेदार समेत रहेकी मनमायालाई बोक्सीको आरोप लगाएकी थिइन् । सो लगत्तै विरेनचोकमा रहेको माझगाउँ टोलविकास संस्थाका अध्यक्ष श्याम कुमार श्रेष्ठको रोहवरमा गाउँका सबै बसेर मृतक विजितालाई माफी माग्न लगाउदै खुट्टा ढोग्न समेत लगाएका थिए ।

आफुले गल्ती गरेको र अबदेखि यस्तो आरोप नलगाउने भन्दै मनमायाको खुट्टा ढोगेर घर फर्केकी उनलाई मनमायाकी दुई छोरीहरुले टेलिफोनमा थप धम्की दिएको भाउजु जानुका रानाले बताइन । ‘नन्दले खुट्टा ढोगेर माफी मागेपछि पनि उहाँका छोरीहरु मन्जु र हिराले पटक पटक फोन गरेर नन्दकै मोबाइलमा धम्की दिनुभएको थियो’ मृतककी भाउजु जानुकाले भनिन ‘फोनमा बुवा र म पनि बोलेको हो, नियम कानुन मलाई थाहा छ, पख्लास भनेर भन्नु भएको थियो, त्यसपछि नन्दले धेरै नै चिन्ता लिनुभएको थियो, पछि यस्तो घटना भयो ।’

आत्महत्या गर्नु अघि विजिताले लेखेको दुई पेजको सुसाइड नोट समेत भेटिएको आफन्तले बताएका छन् । तर सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा भने आफुहरुलाई जानकारी नभएको भाउजु जानुकाले बताइन् । यता सुसाइड नोटबारे प्रहरीले पनि अनुसन्धान प्रकृयामा बाधा पुग्ने भन्दै केहि बताउन मानेन ।

गत सालको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।

सिभिल खबरबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.