कबिता : मेरो प्यारो नेपाल

 

पूर्वमा मेची अविरल बगिरहेछ,

पश्चिममा काली निरन्तर कल्कलाइ रहेछ

उत्तरमा हिमशृङ्गखलाले पहरा दिरहेछ,

दक्षिणमा दसगजाको बलियो दिवार उभिरहेछ (१)

 

जहाँ सगरमाथाले छड्के टोपि लगाएर शिर उठाउछ,

माछापुच्छ्रे फेवामा ऎना हेरेर मुसुक्क मुस्काउछ

जहाँ खेल्न रङ्ग रोसनी भरिएका थला थला छन् ,

धारा, पधेरा, पाटिपौवामा सुन्दर कला छन (२)

 

जहाँ धर्ती आकाशसम्म स्वतन्त्र उठेको छ ,

जहाँ आकाश धर्तीसम्म प्रतिस्ठाले झुकेको छ

कतै लुकेको छ त कतै फुकेको छ,

तर पनि यो अनेकमा केबल एक छ (३)

 

जहाँ हरेक हृदयमा बुद्धको ज्ञान बोधिएको छ,

हरेक नेपाली ढुङगामा पू्र्खाको विरता कोरिएको छ

जहाँ बेदनामा पनि हिमाल हासिरहेको हुन्छ ,

समाधिस्थ भएर पहाड पनि बाँचिरहेको हुन्छ (४)

 

जहाँ मुनि मनिषिका असङ्ख्य कुटिहरु छन ,

जहाँ स्नान गर्न कोशी र गण्डकीहरु छन

जहाँ जनता नै तीन कोटि छैनन् ,

त्यहाँ देवता नै तेत्तीस कोटि छन (५)

 

यस राष्ट्रका प्रत्येक किल्लामा भक्ती थापाहरु तैनाथ छन,

यस राष्ट्रका प्रत्येक सिमामा अमरसिंहहरु उभिएका छन

जानी रख्नु अझै पनि ती वीर नेपालीहरु जिवित छन् ,

अझैपनि ती पुर्खाले पढाएका पाठ सिमित छन  (६)

 

नेपाल आमाका सन्तान हामी वीर नेपाली,

कहिल्यै झुक्दैनन्न यी अटल शिर नेपाली ,

आज नेपाली भुमि हडपिदा त्यो घाउ बल्जिएको छ,

ती राष्ट्रप्रेमी नेपालीको साहसपूर्ण रगत उम्लिएको छ(७)

लिपुलेक कालापानी लिम्पियाधुरा नेपाल आमाको अङ्ग,

वैरिले त्यसलाई आफ्नो भन्दा भयका छौ दङ्ग

उठाउँ आवाज नेपाली हो आमालाई लाग्यो दाग,

कसैले पाउने छैन कहिल्यै हाम्री आमाको यो भाग (८)

 

भाइ भारदार हौं हामी छैन रच्नु शत्रुता ,

यसरी गद्दारी गर्नेसङ्ग के बाध्नु मित्रता ,

मार्न र मर्न पनि तयार छौँ आमाको निम्ति हामी ,

सबैभन्दा नेपाल आमा किम्ती नेपाली हामी (९)

 

आकारले सानो छ भन्दैमा नहेप सथिभाइ,

विचार पुर्याउ नेपाली हौं लगौला जाइ ,

गरिव हौंला नेपाली हामी त्यो पापि धनले

गरिव छैनौं नेपाली हामी धनी छौँ मनले (१०)

यहीँ म छु र मेरो एउटा इन्द्र धनुषि देश छ ,

यहीँ म छु र मेरो एउटा द्वषरहित देश छ

यहीँ एउटा देशभक्त नेपालीको सुन्दर देश छ ,

यहीँ एउटा वीर पुर्खाको पौरख खोपिएको देश छ (११)

जय नेपाल!!!!

– प्रभात मा. बि.  भरतपुर -२५, चितवन

कक्षा १० ( सिभिल इन्जिनियरिङ्ग)

Back to top button
Close