
गोरखा संसार
जेठ २२,गोरखा
गोरखाको पालुङ्टार नगरपालिकास्थित शिक्षा युवा तथा खेलकुद शाखाले बिद्यार्थीहरुको प्रविधीमा पहुँचको सर्वेक्षण शुरु गर्ने भएको छ ।
नगरपालिकाको शिक्षा शाखामा आज नगर प्रमुख इ.दिपकबाबु कंडेलको अध्यक्षतामा एक बैठक बसी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ माथि छलफल तथा अन्तरक्रिया गर्दै सर्वेक्षण गर्ने जनाएको हो ।
छलफलका क्रममा बोल्दै नगर प्रमुख कंडेलले शिक्षाको परिवर्तन बिना समाज परिवर्तन सम्भव नहुने बताउँदै कोभिड १९ ले गाँजेको यस बिषम परिबेशमा बैकल्पिक शिक्षालाई अघि बढाउने क्रममा सबैभन्दा पहिले जीवन बचाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सरकारले सरकारी विद्यालयमा पढेकाहरुलाई मात्र छात्रबत्ति दिने व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सवै विद्यार्थीहरुलाई सरकारले समान व्यवहार गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नगर उप प्रमुख पम्फा बसेलले कोभिड १९ का कारण सिर्जित अहिलेको परिबेशमा जनप्रतिनिधीहरु बढ पिडामा रहेको बताउनुभयो । कतिपय स्थानहरुमा क्वारेन्टाइन निर्माणका क्रममा कतिपय विद्यालयहरुमा बिबाद र समस्या आएको बताउँदै सकारात्मक सोचका आधारमा अघि बढनुपर्ने बताउनुभयो ।
बिगत लामो समयदेखि लकडाउनका कारण विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु विद्यालय गएका छैनन । यस्तो विषम परिवेशमा संघ तथा प्रदेशसंग समन्व गर्दै स्थानीय तहहरुमार्फत बिद्यार्थीहरुलाई पठनपाठनको दायरामा बैकल्पिक माध्यमबाट कसरी गर्न सकिन्छ भनी मन्त्रालयले जेठ १८ गते निर्देशिका जारी गरेको छ ।
निर्देशिका बमोजिम बिद्यार्थीहरुलाई स्रोत र साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी ५ भागमा बर्गीकरण गरेर बैकल्पिक शिक्षा अघि बढाउन सकिने बताएको छ ।
के के हुन त ५ समूह
१, सवै किसिमको प्रविधीकोे पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समूह
२, रेडियो, एफ.एम.रेडियोमा पहुँच भएका विद्यार्थी समूह
३, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह
४, कम्प्युटर भएको तर अनलाइन कनेक्टीभिटी नभएक विद्यार्थी समूह
५, इन्टरनेट तथा सूचना संचार प्रविधीका साधनमा पहुँच भएका विद्यार्थी समूह