
रविन्द्र कंडेल
गोरखा संसार
९ जेठ, गोरखा ।
बिश्व महामारीको रुपमा कोरोना भाइरस देखिँदै आएपछि शिक्षकहरु नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै प्र्रविधीसँगै जोडिँदै छन् ।
हरेक चुनौतिभित्र कुनै कुनै अवसर हुन्छ भन्ने कुरा सावित गर्ने उदेश्यका साथ शिक्षकहरुले पनि यस अवधिमा विभिन्न्न तरिकाले प्रविधीसँग जोडिन थालेका हुन ।
लकडाउनको समयको सदुपयोग गर्दै विभिन्न शिक्षक संगठनहरुले प्रविधीतर्फ शिक्षकहरुलाई उन्मुख गराउन थालेको हो । प्रविधीमैत्री शिक्षक समाजले प्राविधिक समिति नै बनाएर केन्द्र र प्रदेश स्तरमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरिसकेको छ ।
त्यस्तै गरी एकिकृत अखिल नेपा शिक्षक संगठन गण्डकी प्रदेशले पनि अनलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरिसकेको छ ।
शिक्षकहरु प्रविधीसँग जोडिनु र प्रविधीमैत्री शिक्षणमा जोड दिनुपर्ने भएको हुँदा शिक्षकहरुका लागि प्राविधिक रुपमा सुुसूचित गराउने उचित समय यो भएकाले शिक्षकहरुलाई प्रविधीमा जोडन शुरु गरिएको प्रविधीमैत्री शिक्षक समाजका परिकल्पनाकार भूपति बस्यालले बताउनुभयो ।
उहाँका अनुसार अहिलेको एक्काइसौं शताब्दीमा शिक्षकहरु प्रविधीमैत्री हुनुपर्ने तर उनीहरुलाई अवसर नभएको र सरकारी तवरबाट पनि खासै पहल हुन नसकेको यस परिप्रेक्ष्यमा शिक्षकहरुलाई समेटिएको हो ।
यतिबेला जुम, गुगल मिट जस्ता प्रविधीको प्रयोगबाट विभिन्न अनलाइन तालिमहरु समेत सञ्चालन गरिएको छ ।
यसै क्रममा गोरखामा पनि केही शिक्षकहरुको अगुुवाइमा बिहान ७ बजेदेखि जुम मिटिङ मार्फत सिकाइको आदान प्रदान गरिरहेका छन् ।
यसरी नै सबैले चुनौती संगै अवसर पनि हुन्छ भन्ने कुरालाई आत्मसात गरी अघि बढेमा र यस लकडाउनका समयमा शिक्षकहरुले चासो देखाएमा शैक्षिक क्षेत्रले प्रविधीमा बिशेष फडको मार्न सक्षम हुने कुरामा कुनै द्धिविधा छैन ।