पर्यटकीय गन्तव्य निमार्णका लागि बन्दीपुरमा साइकल लेनको खोजी

तनहुँ । पर्यटन प्रवर्द्धनका लागि यहाँको बन्दीपुर गाउँपालिकाले साइकल लेनको खोजी सुरु गरेको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित गाउँपालिकाले बन्दीपुर गाउँपालिका ४ र ५ मा अवस्थित रानीवन क्षेत्रमा साइकल लेनको खोजी सुरु गरेको हो ।

सो स्थानमा साइकल लेन बनाउन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल यात्रीलाई बन्दीपुरमा भित्र्याएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “बन्दीपुर पर्यटन गन्तव्यका रुपमा विकास भइरहेको छ, यहाँभित्र नयाँ नयाँ गन्तव्य निर्माण गर्न सके पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको छ”, उनले भने, “सोहीबमोजिम साइकल लेन निर्माणका लागि गाउँपालिकाले पहल सुरु गरेको छ ।”

रानीवनको जङ्गलमा साइकल लेन बनाउनका लागि सम्भाव्यता अध्ययन गरिएको र साइकल लेन बनाउन उपयुक्त देखिएको उनले बताए । “जङ्गलमा मान्छे हिँड्ने बाटो पनि थिएन, अहिले सामान्यरुपमा बाटो बनाइसकेका छौँ”, उनले भने, “एक÷दुई महिनाभित्रै व्यवस्थित साइकल लेनको निर्माण सुरु गर्छौं ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यहाँ लेन बनाउने तयारी गरिएको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट साइकल लेनको काम अगाडि बढाउँछौँ”, अध्यक्ष थापाले भने, “साइकल लेनले बन्दीपुरको पर्यटनमा एउटा आयाम थप हुनेछ ।” थापाका अनुसार साइकल लेन करिब चार किमीको रहनेछ ।

यहाँ लेन बनाउन सकिए राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने गाउँपालिकाकाले जनाएको छ । रानीवन जङ्गलमा चराचुरुङ्गीको चिरवीर आवाज र हिमशृङ्खलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बर्द्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने अध्यक्ष थापाले जानकारी दिए ।

सोहीबमोजिम गाउँपालिकाले वडा नम्बर २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण सुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।

गत आर्थिक वर्षमा दश लाखको लागतमा ३ सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा ६० लाखको लागतमा एक हजार ३ सय मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करीब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करीब दुई करोड बजेट अनुमान गरिएको छ ।

गाउँपालिकाले टुँडिखेलमा शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको थापाले जानकारी दिए । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौंदेखि १ सय ४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

रासस

Back to top button
Close