
आँँबुखैरेनी, १३ चैत
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ६ वेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले आँबुखैरेनी–३ मा रहेको रामशाह माविमा ६ वेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो। गाउँपालिकाले क्वारेन्टाईनको लागी विद्यालयको २ वटा कोठालाई प्रयोग गरेको छ। जहाँ प्रत्येक कोठामा ३ वटा बेड राखिएको छ।
क्वारेन्टाइन आँबुखैरेनी गाउँपालिकाको मातहतको स्वासथ्य शाखा, स्थानीय प्रशासन, इलाका प्रहरी आँबुखैरेनी र रामशाह माविको संयोजनामा निर्माण गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो।
क्वारेन्टाइनमा आवश्यक पर्ने पानी, बिजुली, शौचालय, स्नानगृहको व्यवस्थापन विद्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाबाट उपलब्ध गरिएको अध्यक्ष थापाले बताउनुभयो। गाउँपालिकामा रहेको स्वास्थ्य शाखा, ६ वटै वडामा रहेको स्वास्थ्य चौकी, मुग्लिन पुलजिपमा रहेको हेल्थ डेस्क, आँबुखैरेनीमा रहेको निजी अस्पताल र क्लिनिकहरुमा भेटिएका कोरोना आशंका गरिएका व्यत्तिहरुलाई क्वारेन्टाइनमा राखिने पनि उहाँले बताउनुभयो।
उहाँका अनुसार क्वारेन्टाइनबाट आइसोलेसनमा राख्नुपर्ने बिरामी भए पठाउनको लागि स्थानीय सरकारले पहल गर्ने भएतापनि क्वारेन्टाइनमा बस्ने व्यक्तिले आवश्यक पर्ने खर्च निजी तवरले नै व्यहोर्नु पर्ने छ।