भानु कप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टारको पाेल्टामा

डुम्रे , साउन ७
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटेले जितेको छ ।
५ हजार भन्दा बढी दर्शकले खचाखच भरिएकाे भानुरंगशालामा आइतबारको फाइनलमा सेभेन स्टार युवा क्लव भानु १ साजबाेटेले फ्रेण्डसिप युवा क्लब भानु ३ खहरेलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि उचालेकाे हो । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरको माध्यमबाट खेलको निर्णय लिइएको थियो । दुवै टिमले निर्धारित समयमा थुप्रै सुनौलो अवसरहरुलाई खेर फाल्दा खेल ट्राइब्रेकर सम्म पुगेको थियो।
प्रतियोगितामा बिजेता र उपबिजेता टिम सेभेन स्टार र फ्रेण्डसिप युवा क्लबलाई क्रमशः २ लाख २५ हजार २ सय १०, १ लाख १२ हजार २ सय १० नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र उप-प्रमुख उमा गाेतामेले संयुक्त रुपमा वितरण गर्नुभएकाे हाे। सो प्रतियोगितामा फ्रेण्डसिप युवा क्लबका जितेस गुरुङ उत्कृष्ट खेलाडी, सेभेन स्टारका रमेश श्रेष्ठ उत्कृष्ट गोल किप्पर, फ्रेण्डसिप युवा क्लबका विक्की चाम्लिङ राइ (५ गोल) सर्वाधिक गोलकर्ता र म्याग्दे युवा क्लब अनुशासित टिम घोषित भइ आकर्षक पुरस्कार हात पारेको मुल संयोजक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयाे । भानुकप फुटबल प्रतियोगितामा देशभरका ३२ वटा टिमको सहभागिता रहेको थियो । भानुभक्तको जन्मस्थल चुदी रम्घालाई देश विदेशमा चिनाउने र खेलकुद पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि जितेपछि ट्रफीका साथमा सेभेन स्टारका खेलाडीहरु फाेटाे सेसनमा

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker