Trending

प्रहरीले बुझायाे नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

८जेठ, काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष सहित प्रहरीले आज प्रतिवेदन बुझाएकाे हाे ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

यो मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ ।

यो प्रकरणमा मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने १ जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको  छैन ।

अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयाे ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्हसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेश गर्ने तयारी गरेको छ। सोमबार ८ जना सरकारी वकिलले यो मुद्दामा प्रतिवेदन अध्ययन गरी अभियोगपत्र बनाउन थालेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा पछि नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद तथा कांग्रेस नेता आङटावा शेर्पा, तत्कालिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका छन् ।

अरु भने फरार रहेका छन् । प्रहरीले यो प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, टेक गुरुङ, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, रामशरण केसी, केशब तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जनविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।

त्यस्तै अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, सुनिल बुढाथोकी, प्रतिक थापा, शमशेर मिया, गोकुल थापा, रमा थापा, निरञ्जनकुमार भुजेल, आङटावा शेर्पा र टेकनाथ रिजाललाई पनि मुद्दा चलाउन राय दिएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker