साउन १ ,गाेरखा।
आज साउने संक्रान्ति पर्व । साउने संक्रान्तिदेखि सूर्य कर्कट रेखामा सर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट संक्रान्तिबाट सूर्य दक्षिणायन हुने हुँदा पृथ्वीको उत्तरी गोलार्धमा हिउँदेयाम शुरु हुन्छ ।
अयन परिवर्तन हुने साउने संक्रान्तिका दिन घर घरमा कागती, निउवा, अम्बा, अनार, नासपाती, साउनेआरु चढाएर कण्डारक राक्षसको पूजा गर्नाले चर्मरोग नलाग्ने विश्वास छ । यसै दिन साँझ कण्डारकको पूजा गरी लुतो फाल्ने चलन छ । लुतो फाल्दा कुकुरडाइनो, कागभलायो,कुरिलो पानीसरो पुरेनी,गलेनी,लुतेलहरोलगायतका वर्षे वनस्पतिको धूप हाली लुतो लैजा भन्दै घरबाट चारैतिर अगुल्ठो फाल्ने गरिन्छ ।
असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ ।
साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।
साउन महिनाभर गाेरखा लगायत देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका भिडभाड गर्न नपाइने भएकाले धेरैले घरमै बसेर साउने संक्रान्ति पर्व र साउने सोमबार मनाउँदैछन् ।
साउने संक्रान्तिकै दिन थारु समुदायमा गुरिया पर्व मनाइन्छ भने सुदूरपश्चिमको बैतडीमा गुजर बनारसी मेला लाग्दछ ।