बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा, २६ असार :

गोरखा जिल्लाका स्थानीय तहहरु मध्ये  बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धी र कमिकमजोरीको लेखाजोखा गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याबिधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा बारपाक सुलिकोट गाउँपालिका जिल्ला भित्रकै सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो ।

कार्यबिधिमा समावेश गरिएका १० ओटा सूचक र १ सय ओटा उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिसत अंक प्राप्त गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । त्यस्तै कार्यबिधीको मापदण्ड अनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा जिल्लाको भीमसेन थापा गाउँपालिका सवैभन्दा पछाडी परेको छ । भीमसेन थापा गाउँपालिकाले ३३.५ प्रतिसत अंक प्राप्त गरेको छ ।

संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो धेरै अङ्क प्राप्त गर्ने गाउँपालिका बनेको छ । अजिरकोट गाउँपालिकाले ६५.५ प्रतिसत अङ्क प्राप्त गर्न सफल भएको हो । त्यस्तै सहिद लखन गाउँपालिकाले ६०.२५ अङ्क ल्याएर संस्थागत क्षमताको स्वमूल्याङकनमा जिल्ला भित्र तेस्रो उत्कृष्ट गाउँपालिका बनेको छ । सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार गोरखाको सिरानचोक गाउँपालिकाले ६०.२५ अङ्क ल्याएको छ भने धार्चे गाउँपालिकाले ४६. ५ प्रतिसत अङ्क ल्याउन सफल भएको छ ।
त्यस्तै गोरखा नगरपालिकाले ४२.२५ प्रतिसत र पालुङटार नगरपालिकाले ४१.७५ प्रतिसत, गण्डकी गाउँपालिकाले ४५ प्रतिसत र चुमनुव्री गाँउपालिकाले ३३.५ प्रतिसत अङ्क प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको बिबरणमा उल्लेख छ । कार्यबिधि अनुसार गाउँपालिका र नगरपालिकाका सवल र दुर्बल पक्षहरुको पहिचान र समिक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्यांकन गर्ने गर्दछन् ।

नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलना योग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्यांकन गर्न कार्यविधिले सघाउने बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताउनुभयो । ‘सुशासनमा रहेका कमीकमजोरी जानकारी लिन, समीक्षाका लागि आधार प्राप्त गर्न कार्यबिधिबाट सजिलो भएको छ’ उहाँले भन्नुभयो, बढी अङ्ग प्राप्त गर्नका लागि कार्यबिधिका सूचकहरु पुरा गर्ने गरि काम त गर्नैपर्छ ।’

शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासन, सहकार्य र समन्वयको आधार स्थानीयतहरुले नम्बर प्राप्त गर्ने अध्यक्ष भट्टले जानकारी दिनुभयो । जति धेरै कार्यबिधिको मापदण्ड पुरा गर्न सक्छन् त्यति नै धेरै नम्बर स्थानीय तहले प्राप्त गर्ने उहाँको भनाई छ ।

कार्यबिधिका उल्लेख गरिएका अधिकतम मापदण्ड गाउँपालिकाले पुरा गरेकाले जिल्लामा बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट बन्न सफल भएको अध्यक्ष भट्टले बताउनुभयो । गोरखाका ११ स्थानीय तहहरुमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया सुरु गरेको जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.