मनाङमा बाढी : जलविद्युत् आयोजनासहित पाँच होटल बगे

मर्स्याङ्दी नदीको बाढीले मनाङको तल्लो भेग नासों गाउँपालिकाको धारापानी क्षेत्रमा क्षति पुर्‍याएको छ । बुधबार बिहान आएको बाढीले पुल र भवनहरू बगाएको हो ।

मनाङ प्रहरीका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं. ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगेका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपछि प्राइम कमर्सियल बैंकमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको बताए । ‘ती कर्मचारी आफ्ना साथीहरूसँग सम्पर्कमा छैनन् । बैंकको केन्द्रीय कार्यालयले पनि सम्पर्कमा नरहेको जनाएको छ । हामी खोजिरहेका छौं,’ उनले भने ।

डीएसपी सुवास खड्काका अनुसार बाढीले धारापानी बजार नै जोखिममा परेको छ । ‘धारापानीमा बिजुली छैन । बल्लबल्ल हाम्रा साथीहरू सम्पर्कमा आएर जानकारी गराउनुभयो । टेलिफोनले काम गरेको छैन,’ उनले भने । उनका अनुसार पारिपट्टि थोंचेको स्वास्थ्य चौकी पनि बाढीले कटान गरेको छ ।

प्रजिअ लामिछानेले बेलिब्रिज, झोलुंगे पुल, सरकारी कार्यालय, प्रहरी चौकी, बैंक, होटल बगाएको बताए । ‘बाटोमुनिका सबै होटल तथा संरचनाको पछाडिको भाग बगाएको छ । बाढीले विद्युतीय संरचना बगाउँदा सबैतिर सम्पर्कविच्छेद भइरहेको छ,’ उनले भने । गाउँपालिका कार्यालय, बैंक, प्रहरी चौकी तथा होटलका सामानहरू भने झिकिएको उनले बताए । ‘बाढी बढ्दै गएपछि प्रहरीको सहयोगमा सामान झिकिएको छ,’ उनले भने ।

बजार जोखिममा परेपछि स्थानीय बासिन्दा नजिकैको ओडार गाउँमा गएर बसेका छन् । मस्र्याङ्दी वरपरका सबै गाउँ जोखिममा रहेको प्रजिअ लामिछानेले बताए । बाढीले बेंसीसहर–चामे सडक ठाउँठाउँमा छियाछिया बनाइदिएको छ । मस्र्याङ्दी उर्लिंदा पहिरो गएको स्थानीयले बताए । स्थानीयको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सदरमुकाम चामेबाट धारापानीतर्फ गएको सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीले बताए । कान्तिपुर अनलाइनबाट

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.