पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङले बुद्ध पूर्णिमाकाे अवसरमा शुभकामना सन्देश दिएका छन् । राजनैतिक खिचातानीका कारण जनअपेक्षा पूरा गर्न बाधा व्यवधान आइपरेकाे उनले बताएका छन् ।
गुरुङद्वारा जारी विज्ञप्ती
आज २०७८ जेठ १२ गते अर्थात २५६५ औं बुद्ध जयन्ती । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा बुद्ध जयन्तीको यो पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देश नेपाल बहुधार्मिक मुलुक हो। बहुसांस्कृतिक मुलुक हो । बहुजातीय मुलुक हो । विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो।विविधतामा एकता र सहिष्णुता हाम्रो मुलुक नेपालको सबल पक्ष हो । सार्वभौम नेपाली जनताका प्रतिनिधले २०७२ सालमा जारी गरेको नेपालको संविधानले विविधतासहितको हाम्रो समाजलाई सम्बोधन गरेको छ । यो उपलब्धि हामीले लामो संघर्षपछि प्राप्त गरेका हौं । जनअपेक्षा पूरा गर्दै हामी विकास र प्रगतिसहितको समृद्ध नेपाल निर्माण गर्न लागिपरेका छौं । यसमा सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु।
नेपालको पवित्र भूमिमा जन्मेर विश्व मानव कल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्ध हाम्रो मुलुकका मात्रै नभई विश्वकै प्रेरणाका अमूल्य स्रोत हुनुहुन्छ । आज विश्वले उहाँले मार्गदर्शन गराउनुभएको मानव कल्याणको बाटो अनुसरण गर्न जुन प्रयत्न गरेको छ, त्यो हामी सबै नेपालीका लागि गर्वको विषय हो ।
महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनु भएको बाटो अझ धेरै व्यवहारमा आत्मसात गरेर अघि बढ्नुपर्ने आवश्यकता म देख्दछु । विश्व नै कोभिड १९ को महामारीले आक्रान्त बनेको यो घडीमा बुद्धले देखाउनु भएको मानव कल्याणको मार्ग झन् सान्दर्भिक भएको मैले महसुस गरेको छु । नेपाल राजनीतिक उथलपुथलमा रुमलिन जाँदा जनअपेक्षा पूरा गर्न बाधा र व्यवधान आइपरेका छन् । यस सन्दर्भमा पनि बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो अझै बढी सान्दर्भिक हुन पुगेको छ ।
हामी नेपालीका प्रेरणा पुञ्ज बुद्धका उपदेश र व्यवहारपरक मार्ग निर्देशनलाई पालना गरेर अघि बढ्न सके आजका सम्पूर्ण दुख निवारण हुने कुरामा कुनै दुई मत हुन सक्दैन । संसारमा दुख छ र दुखको निवारण पनि छ भन्ने बुद्ध मार्ग निर्देशलाई हामी सबैले आजको दिनमा आत्मसात गर्न सक्यौं भने हाम्रा दैनन्दिनका कठिनाइबाट मुक्ति पक्कै पनि सम्भव छ । बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीलाई बुद्धका मार्गदर्शनबाट प्रेरणा प्राप्त भई सकारात्मक उपलब्ध हाँसिल हुन सकून् भन्ने शुभकामना प्रकट गर्दछु ।