‘हात जोडेर तपाईँ त्यो ठाउँमा नगइदिनुस् भन्दा पनि रामचन्द्र पौडेलले मान्नुभएन’

काठमाण्डाै – तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गर्‍याे । धेरैतिरबाट यो घटनाको विरोध भएको छ ।

व्यास नगरपालिका १ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटन पौडेलले गर्ने भनेपछि मङ्गलबारदेखि नै त्यो क्षेत्रमा तनाव थियो । थप तनाव नहोस् भनेर प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर पनि निषेधाज्ञा मिच्दै पौडेलसहित कांग्रेसका कार्यकर्ता पुल उद्घाटन गर्ने स्थानतर्फ जान थालेपछि नेकपाका कार्यकर्तासँगको सम्भावित झडप रोक्न प्रहरीले पौडेललाई पक्राउ गरेको छ ।

घटनाबारे तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले उज्यालो अनलाइनसँग गरेको कुराकानीको अंश– 

त्यो ठाउँमा सङ्घीय सरकारको योजनाअनुसार पुल बनेको रहेछ । पुल उद्घाटनको लागि पुल निर्माण गरेको निकाय नै अग्रसर हुनुपर्नेमा पुल बनाउने निकायलाई आज उद्घाटन छ भन्ने  थाहा रहेनछ । नेकपाका नेता कार्यकर्ताले तयार नै नभएको पुल उद्घाटन गर्न नपाइने भन्दै विभिन्न धम्की दिइरहेका थिए । एउटा पक्ष पुल उद्घाटन गरेरै छाड्ने, अर्को पक्षले कुनै हालतमा नदिने भनेर पौठेजोरी खेलेपछि हामीले निषेधाज्ञा लगायौँ ।

आज बिहान पनि म रामचन्द्र पौडेललाई भेट्न गएँ । मैले हात जोडेर तपाईँ त्यो ठाउँमा नगइदिनुहोस्, पुरानो र अनुभवी नेता हुनुहुन्छ, मेरो अफ्ठेरो बुझिदिनुहोस् भनेको थिएँ । मैले उहाँलाई निकै अनुरोध गर्दा पनि पुल उद्घाटन गरेरै छाड्ने अडान उहाँले छाड्नुभएन ।

एकातिर पौडेलको जिद्दी अर्कोतिर कांग्रेसबाहेकका दलका कार्यकर्ताको खबरदारीका कारण अवस्था तनावपूर्ण हुने आँकलन पहिले नै भएको थियो । त्यसैअनुसार निषेधाज्ञा लगाइयो र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरियो ।

दिउँसो रामचन्द्र पौडेल चर्का नारा र उत्तेजित भाषण गर्दै निषेधित क्षेत्र तोडेर पुल बनेको स्थानमा पुग्नुभयो, त्यहाँ ठुलो झडपको सम्भावना देखियो ।

रामचन्द्र पौडेलकै सुरक्षाको लागि उहाँलाई कुनै बलजफ्ती विना नै हामीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर राख्यौँ ।

उहाँलाई पक्राउ गरेको भनेर धेरैतिरबाट विरोध पनि आएको छ । तर हामीले उहाँलाई समातेर नल्याएको भए अर्को पक्षबाट जे पनि हुन सक्थ्यो । कमसेकम हामीले ल्याएर अहिले जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखेका छौँ, यदि हामीले पक्राउ नगरेको भए उहाँमाथि अर्को पक्षबाट हुने घटना निकै ठूलो हुन सक्थ्यो ।

अब केही बेरमा हामीले उहाँलाई आफ्नै निवासमा लगेर छाडिदिने तयारी गरिरहेका छौँ ।

उज्यालाेअनलाइनबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.