बिद्युत लाइनमा काम गर्दा दुवै खुट्टा फ्याक्चर, प्राधिकरण भन्छ थाहा छैन

गोरखा संसार
२१ कार्तिक, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ निबासी चन्द्र बहादुर कुमाल बिद्युतको काम गर्ने सिलसिलामा घाइते भई घरमा भएको बीसौं दिनभन्दा बढी हुँदासमेत बिद्युत प्राधिकरणले कुनै वास्ता गरेको छैन ।
कुमाल बिद्युत कार्यालयकै कर्मचारीले काम गर्न बोलाएपछि केही दिनदेखि काम गरिरहनुभएको थियो । कार्तिक १ गतेका दिन बिद्युत पोलमा काम गर्दै गर्दाको अवस्थामा एक्कासी बिद्युत लाइन आएपछि तारमा झुण्डिएर केही समयपछि खसेको र घाइते भएको कुमालको भनाइ छ । त्यसपछि तत्कालै बिद्युत प्राधिकरण अन्तर्गत च्याङ्ली नोलाइट प्रमुख सञ्जय खडकाले पोखरा स्थित अस्पतालमा पुर्याएर केही दिनको उपचारपछि घरमा आएर आराम गरिरहनुभएको छ । उहाँको दुवै खुट्टा फ्याक्चर हुनुका साथै मेरुदण्डमा पनि समस्या भएका कारण उठन बस्न वा दिसापिसाव गर्न जान समेत नसक्ने अवस्थामा हुनुहुन्छ ।
यस्तो अवस्था हुँदासमेत बिद्युत कार्यालयले भने आफूलाई घटनाको बारेमा खासै थाहा नभएको बताउँछ । बिद्युत कार्यालय गोरखाका प्रमुख माधव न्यौपाने सँग सम्पर्क गरी बुझ्दा आफूहरुलाई खासै जानकारी नभएको बताउनुभयो । टेलिफोनबाट जानकारी पाएको भएपनि आधिकारिक खबर भने भर्खर मात्र पाएको प्रमुख बताउनुहुन्छ ।
घाइते कुमाल भने दशैंको समयमा समेत आफू यस्तो गम्भीर घाइते हुँदासमेत बिद्युत कार्यालयले कुनै चासो र चिन्ता नदेखाएको बताउनुहुन्छ । आफूलाई समयमा सही उपचार पाउनको लागि समस्या भइरहेकोले तत्कालै प्राधिकरणले औषधोपचारको व्यवस्था गरिदिन समेत उहाँले अनुरोध गर्नुभएको छ ।
बिद्युतको काम गर्दा गम्भीर घाइते हुँदासमेत बिद्युत कार्यालयको ध्यान नपुग्दा घाइतेको अवस्था समेत दयनीय देखिएको छ । घरको सामान्य खाटका सुतिरहेका घाइते कुमाल खाना खानको लागि उठन समेत नसक्ने अवस्थामा छन् ।
उता कुमाललाई काममा लगाएका च्याङ्ली नोलाइट प्रमुख सञ्जय खडकाका अनुसार कुमाललाइ उहाँले नै काम लगाउनुभएको र काम गर्ने क्रममा प्राविधिक कमजोरीका कारण उहाँ पोलबाट खसेर घाइते भएको बताउनुभयो । तर बिद्युत करेन्ट भने नआएको बताउनुभयो । त्यस्तै गरी उहाँले तत्कालै उपचारको लागि आफैले खर्च गरेर पोखरासम्म पुर्याएको बताउनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.